चितवनको माडीमा आगामी बैशाख ३ गतेदेखि १५ गतेसम्म “माडी सांस्कृतिक तथा पर्यटन उत्सव–२०८३” आयोजना हुने भएको छ।
माडी कला केन्द्रले आज पत्रकार सम्मेलनमार्फत उत्सवका कार्यक्रम, तयारी र उद्देश्यबारे विस्तृत जानकारी दिएको हो।
बसन्तपुरस्थित खुल्ला खेलमैदानमा सञ्चालन गरिने उक्त उत्सवले यस क्षेत्रको कला, संस्कृति तथा पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ। आयोजकका अनुसार उत्सव केवल मनोरञ्जनमा सीमित नभई स्थानीय पूर्वाधार विकाससँग समेत प्रत्यक्ष रूपमा जोडिएको छ।
माडी कला केन्द्रका अध्यक्ष हरिकृष्ण लामिछानेका अनुसार अघिल्लो वर्षदेखि खेलमैदानको स्तरोन्नति कार्य हुँदै आएकोमा यस वर्ष मैदानको एक साइडमा नाला निर्माण गर्ने मुख्य उद्देश्यसहित उत्सव आयोजना गर्न लागिएको हो। “स्थानीय स्रोत र सहभागिताबाट मैदानलाई व्यवस्थित र दीगो बनाउने हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो।
आर्थिक पक्षका हिसाबले पनि उत्सवलाई महत्वपूर्ण रूपमा हेरिएको छ। करिब ५० लाख रुपैयाँ लागतमा सञ्चालन हुने कार्यक्रममा झन्डै ७० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको आयोजकले जनाएको छ। यसले स्थानीय व्यवसाय तथा उद्यमलाई समेत चलायमान बनाउने विश्वास लिइएको छ।
उत्सवमा सर्वसाधारणका लागि प्रवेश शुल्क १०० रुपैयाँ तोकिएको छ भने करिब ४० वटा स्टल रहनेछन्। ती स्टलहरूमा स्थानीय उत्पादन, खानाका परिकार, हस्तकला सामग्री तथा व्यवसायिक प्रदर्शनीहरू राखिने तयारी गरिएको छ।
यसका साथै, उत्सव अवधिभर विविध सांस्कृतिक कार्यक्रम, स्थानीय कलाकारहरूको प्रस्तुति, मनोरञ्जनात्मक गतिविधि तथा पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरू समावेश गरिनेछन्। आयोजकले यस कार्यक्रममार्फत माडीको सांस्कृतिक पहिचानलाई उजागर गर्दै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
