२ वैशाख, सिरहा — सिरहा सहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ। पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ, जसका कारण विभिन्न स्थानमा सांस्कृतिक र पारिवारिक गतिविधि बढेका छन्।
प्रकृति र स्वास्थ्यसँग गहिरो सम्बन्ध राख्ने जुडशीतल पर्वलाई मिथिला क्षेत्रमा नयाँ वर्षको रूपमा विशेष महत्वका साथ मनाइन्छ। यसैगरी, थारू समुदायले यसलाई ‘सिरूवा’ पर्वका रूपमा मनाउने परम्परा रहेको छ।
सूर्यको बढ्दो तापबाट राहत दिलाउने उद्देश्यले मनाइने यस पर्वले मानव मात्र नभई वनस्पति र पशुपक्षीको पनि शीतलताको कामना गर्दछ। ‘जुड’ र ‘शीतल’ शब्द मिलेर बनेको यस पर्वमा ‘जुड’ ले आशीर्वादस्वरूप जुराउने र ‘शीतल’ ले शीतलता प्रदान गर्ने अर्थ जनाउँछ।
यस अवसरमा ज्येष्ठ सदस्यहरूले सानालाई टाउकोमा पानी राखेर आशीर्वाद दिने परम्परा रहेको छ। बिहानै उठेर परिवार तथा आफन्तजनलाई शीतलताको कामना गर्दै पानी जुराउने चलनले पारिवारिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिन्छ।
स्थानीयवासीहरूले यस पर्वलाई परम्परा, संस्कार र प्राकृतिक सन्तुलनसँग जोडिएको महत्वपूर्ण चाडका रूपमा मनाउँदै आएका छन्।
