माडी नगरपालिका–७ स्थित गोपालनगरका बाबुराम कुशवाहले माछापालन क्षेत्रमा काम गरेको ९ वर्ष पुगेको छ।
यो अवधिमा माछाका भुरा लिन कुशवाह भैरहवा, वीरगञ्जलगायतका जिल्लामा जानुपर्थ्यो। आजभोलि भने उनले उत्पादन गरेका भुरा झापासम्म पुग्ने गरेका छन्।
“माछाका भुरा लिन विभिन्न ठाउँमा जानुपर्थ्यो। नजिक नपाउँदा निकै कठिन हुन्थ्यो। यहाँ उत्पादन गर्न सके हामी किसानलाई पनि राम्रो हुन्थ्यो भन्ने लाग्यो,” उनले भने, “अहिले किसानलाई माछाका भुरा उपलब्ध गराउन कठिन भइरहेको छ।” उनका अहिले ९ वटा ठूला पोखरीमा माछाका भुरा रहेका छन्।
बानियाँ एकीकृत कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर व्यवसाय सुरु गरेका उनले मागअनुसार भुरा उत्पादन गर्न सकेका थिएनन्। अहिले संघीय सरकारअन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ चितवनले शतप्रतिशत अनुदानमा नश्ल सुधारका लागि भुरा दिएपछि उत्पादन बढाउन सकिने आशामा उनी छन्।
“नश्ल सुधारका लागि हामीले उन्नत जातका भुराको माग धेरै पहिलेदेखि गरेका थियौँ,” उनले भने, “यसपालि पूर्ण अनुदानमा माछाका भुरा पाएका छौँ। यसबाट उत्पादन र वृद्धि–विकास राम्रो होला भन्ने आशा गरेका छौँ।” पाँच वर्षसम्म कामदारका रूपमा काम गरेका कुशवाहले अहिले आफ्नै फर्म सञ्चालन गरेका हुन्।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ चितवनले चालु आर्थिक वर्षमा माछाको नश्ल सुधार कार्यक्रमअन्तर्गत बजेट विनियोजन गरेको थियो। किसानलाई मत्स्य शुद्ध नश्ल संरक्षण तथा प्रवर्द्धन स्रोत केन्द्र, भैरहवाबाट आफैं ल्याएर भुरा उपलब्ध गराइएको कार्यालयका कृषि अधिकृत काशीराम पाण्डेले जानकारी दिए।
पाण्डेका अनुसार माछाको नश्ल सुधारका लागि यस वर्ष पीआईटी ट्याग लगाएर चार जातका तीन सय वटा माछाका भुरा प्रदान गरिएको छ। माछालाई ट्यागिङ गर्नका लागि ९ मिमि लामो पीआईटी ट्याग माछाको छालाभित्र राखिन्छ। यसरी ट्यागिङ गर्ने प्रविधि नेपालमा भर्खरै भित्रिएको उनले बताए। ट्यागबाट माछाको वृद्धि–विकासबारे जानकारी लिन सकिने उनको भनाइ छ। यसरी ट्याग लगाइएका भुरा माछाको मूल्य ५५० रुपैयाँ तोकिएको छ।
कमन कार्प ९०, ग्रास कार्प ६०, बिगहेड कार्प ७५ र सिल्भर कार्प जातका ७६ वटा माछाका भुरा प्रदान गरिएको छ। ट्याग लगाएर ल्याइएका भुरामा जातीय शुद्धता भएकाले उत्पादन पनि बढ्ने पाण्डेले बताए। “जातीय शुद्धता भएका भुराको उत्पादन र उत्पादकत्व बढ्छ,” उनले भने, “यहाँबाट चितवनलगायत छिमेकी जिल्लामा पनि पुग्ने गरी उत्पादन हुने अपेक्षा गरेका छौँ।”
अहिले प्रदान गरिएका भुराबाट दुई वर्षपछि गुणस्तरीय भुरा उत्पादन हुने मत्स्य जोनका मत्स्य प्राविधिक जीवन पुनले जानकारी दिए। “हामीले ट्याग लगाएर साना भुरा ल्याएका छौँ,” उनले भने, “एक वर्षपछि उत्पादन दिन थाले पनि दुई वर्षपछिको उत्पादन राम्रो मानिन्छ।”
चितवनको माडीमा आर्थिक वर्ष २०८१/०८२ देखि माछा जोनका कार्यक्रम सञ्चालनमा छन्। यहाँ हालसम्म ५ सय २५ हेक्टर क्षेत्रफलमा माछापालन हुँदै आएको छ। माछाका भुरा उत्पादन भने न्यून रहेको पुनले जानकारी दिए। माछा जोन क्षेत्रमा मात्रै वार्षिक १५ हजारदेखि १८ हजार टन माछा उत्पादन हुने गरेको उनले बताए।
