चितवन उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न एकदिने ‘चितवन जब फेयर’ कार्यक्रमले युवाहरूलाई रोजगारी र उद्यमशीलतासँग जोड्ने प्रभावकारी मञ्चका रूपमा आफूलाई स्थापित गरेको छ ।
शुक्रबार भरतपुरस्थित चितवन उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रममा देशभरका झन्डै ३५ वटा रोजगारदाता कम्पनी तथा संस्थाहरूको स्टलसहित प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यवाहक नगर प्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने चितवनका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्याल विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख अधिकारीले ‘चितवन जब फेयर’ हालसम्मकै उत्कृष्ट र उपलब्धिमूलक कार्यक्रम भएको बताउनुभयो । उहाँले रोजगारदाता र रोजगार खोजिरहेका युवाबीच प्रत्यक्ष भेटघाट तथा समन्वय गराउने माध्यमका रूपमा कार्यक्रम अत्यन्त प्रभावकारी बनेको उल्लेख गर्नुभयो । स्थानीय तहले पनि युवाहरूलाई रोजगारी र सीप विकाससँग जोड्ने कामलाई प्राथमिकतामा राख्दै आएको उहाँको भनाइ थियो ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्यालले उद्यमशीलता तथा रोजगारी प्रवर्द्धनमा चितवन उद्योग वाणिज्य संघले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले युवाहरूको सीप र क्षमताअनुसार स्वदेशमै रोजगारी सिर्जना गर्नु आजको प्रमुख आवश्यकता भएको बताउँदै वैदेशिक रोजगारीको बाध्यता अन्त्य गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा चितवनसहित देशका विभिन्न जिल्लाबाट व्यवसायी, रोजगारदाता संस्था तथा रोजगार खोजिरहेका युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । स्टल अवलोकन गर्न पुगेका सहभागीहरूले कार्यक्रमलाई व्यवहारिक, उपयोगी र समयसापेक्ष भन्दै सकारात्मक प्रतिक्रिया दिएका थिए ।
कार्यक्रमकै क्रममा रोजगारीका लागि आवेदन दिएका इच्छुक युवामध्ये प्रारम्भिक छनोटका आधारमा एक सय जना छनोट भएका आयोजकले जनाएको छ । कार्यक्रमको सहजीकरण चितवन उद्योग वाणिज्य संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले गर्नुभएको थियो ।
