देशभरका फेन्सी तथा कपडा व्यवसायीलाई एकताबद्ध गर्ने उद्देश्यले भरतपुरमा राष्ट्रिय भेला आयोजना हुने भएको छ। फेन्सी व्यवसायी संघ चितवनको नेतृत्वमा आगामी जेठ २३ र २४ गते दियालो फुडल्याण्डमा ‘नेपालभरका फेन्सी व्यवसायीहरूको राष्ट्रिय भेला तथा फेन्सी व्यवसायी महासंघ नेपाल निर्माण घोषणा कार्यक्रम’ हुने भएको हो।
आयोजकका अनुसार आर्थिक मन्दी, घट्दो व्यापार, करको भार, बढ्दो घरभाडा तथा अनियन्त्रित अनलाइन व्यापारका कारण फेन्सी व्यवसाय क्षेत्र गम्भीर संकटमा परेको छ। यही चुनौतीको सामना गर्न र व्यवसायीहरूको हकहितका लागि सशक्त राष्ट्रिय संगठन निर्माण गर्ने उद्देश्यले महासंघ गठन अभियान अघि बढाइएको जनाइएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा देशभरका व्यवसायीहरूको सहभागिता रहने बताइएको छ। अभियानका संयोजक रामप्रसाद पौडेलले व्यवसायीहरूको एकता, अधिकार संरक्षण र व्यवसायमैत्री वातावरण निर्माणका लागि महासंघ अपरिहार्य भएको बताएका छन्।
‘एकता हाम्रो शक्ति, महासंघ हाम्रो आवश्यकता’ नारासहित आयोजना हुने कार्यक्रममा सहभागी हुन देशभरका फेन्सी तथा कपडा व्यवसायीलाई आह्वान गरिएको छ।
