चितवन क्षेत्र नम्बर ३ अन्तर्गत सडक तथा पुल निर्माणका १३ वटा महत्वपूर्ण पूर्वाधार योजना प्रस्ताव गरिएको छ। चितवन–३ की सांसद तथा कानुनमन्त्री सोविता गौतमको पहलमा प्रस्ताव गरिएका योजनामा माडी र भरतपुरका सडक, पुल, रिङ रोड तथा ट्राफिक सुरक्षा सुधारलाई प्राथमिकता दिइएको छ।
प्रस्तावित योजनाअनुसार भरतपुर–माडी सडक निर्माणका लागि ९ करोड रुपैयाँ विनियोजनको प्रस्ताव गरिएको छ। त्यस्तै, घोसारघाटस्थित नारायणी नदीमा पुल निर्माणका लागि २ करोड ९९ लाख रुपैयाँ छुट्याउने प्रस्ताव गरिएको छ।
माडीका रतनी, चिताई र दुम्मना खोलामा पुल निर्माणका लागि जनही ३ करोड रुपैयाँ विनियोजनको प्रस्ताव गरिएको छ। साथै भरतपुर महानगरको वृहत् चक्रपथ, माडी रिङ रोड तथा सडक र ट्राफिक सुरक्षा सुधारका योजनासमेत समावेश गरिएका छन्।
यी योजना कार्यान्वयनमा आए माडीसहित चितवनको यातायात पहुँच विस्तार हुनुका साथै स्थानीय आर्थिक तथा व्यावसायिक गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ।
