नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवा, जिम्मेवारी र जनकल्याणको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडौँ महानगरपालिका वडा नं ८ले सामाजिक सेवामा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले समाजका विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिहरूले आफ्नो क्षेत्रको विकाससँगै लोकतन्त्रको जग बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
“राजनीतिलाई वास्तविक र सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्ने अहिलेको आवश्यकता हो । हामी सबै मिलेर यो बाटो बनाउन केही योगदान गरौँ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झाले वडा कार्यालय नागरिकको सुखदुःखसँग जोडिएको निकाय भएको बताउनुभयो । सक्रिय जीवनपछि घरमै रहेका ज्येष्ठ नागरिक तथा समाजका योगदानकर्तालाई सार्वजनिक रूपमा सम्मान गर्नु सकारात्मक पहल भएको उहाँको भनाइ थियो ।
“वडाले सक्रिय जीवनपछि घरमा भएकालाई सार्वजनिक स्थलमा ल्याएर सम्मान गरेको छ,” झाले भन्नुभयो । समाजको पहिचान त्यहाँ बसोबास गर्ने सर्जक, कलाकार, खेलाडी, राष्ट्रसेवक, स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक, उद्यमी तथा विभिन्न पेशामा योगदान पुर्याउने व्यक्तित्वबाट झल्किने कार्यक्रममा बताइएको थियो ।
कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याएका ७० जना व्यक्तित्वलाई सम्मान गरिएको थियो । वडाध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले सबै क्षेत्रका प्रतिभाशाली व्यक्तित्व आफ्नो वडामा हुनु गौरवको विषय भएको बताउँदै स्वच्छ प्रतिस्पर्धाबाट मात्र उन्नत समाज निर्माण सम्भव हुने धारणा राख्नुभयो ।
“प्रतिशोध लिएरभन्दा स्वच्छ प्रतिस्पर्धा गरेर उन्नत समाज निर्माण गर्नुपर्नेछ,” उहाँले भन्नुभयो । सम्मानित हुनेमा ज्येष्ठ नागरिकतर्फ रत्नमान श्रेष्ठ, शारदामान राजभण्डारी, हिराबाबा श्रेष्ठ, ठूली सिलवाल, आशामरू सङ्गत, रामप्रसाद चौलागाईं र गणेश महर्जन रहनुभएको थियो ।
