वसन्तपुर युथ क्लबको आयोजना तथा दिवाकर स्मृति माध्यमिक विद्यालयको सहआयोजनामा सम्पन्न दोस्रो अन्तरविद्यालय मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय, हरिनगरले जितेको छ।
प्रतिस्पर्धात्मक फाइनल खेलमा माडी माध्यमिक विद्यालयले टस जितेर पहिलो ब्याटिङ गर्दै १०५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयले उत्कृष्ट प्रदर्शन गर्दै ३ बल बाँकी रहँदै लक्ष्य पूरा गरी उपाधिमाथि कब्जा जमायो।
व्यक्तिगत पुरस्कारतर्फ दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयका शिवनन्दन यादव प्लेयर अफ द म्याच घोषित भए। त्यसैगरी माडी माध्यमिक विद्यालयका प्रिन्स कुँवर बेस्ट ब्याट्सम्यान, विद्याज्योति इङ्ग्लिस स्कुलका आयुष पाठक बेस्ट बलर तथा माडी माध्यमिक विद्यालयकै प्रिन्स धिताल प्लेयर अफ द टुर्नामेन्ट घोषित हुँदै सम्मानित भए।
समापन तथा पुरस्कार वितरण कार्यक्रमको सभाध्यक्षता वसन्तपुर युथ क्लबका सचिव तथा शिक्षक मिलन पनेरुले गर्नुभएको थियो। कार्यक्रममा वडा अध्यक्ष तथा माडी शिक्षा, खेलकुद विकास समितिका अध्यक्ष पुरन महतो प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
आयोजकका अनुसार निकट भविष्यमा आयोजना हुने अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट गरिनेछ। छनोट भएका खेलाडीहरूको नामावली केही दिनभित्र सार्वजनिक गरिने पनि जानकारी दिइएको छ।
