सरोकारवालाले बाघ संरक्षणमा प्रभावकारी व्यवस्थापन, चोरी–सिकारी नियन्त्रण र स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन् ।
अन्तरराष्ट्रिय बाघ दिवसका अवसरमा बुधबार चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसारामा आयोजित छलफल कार्यक्रममा सहभागी वक्ताले बाघ संरक्षण चुनौतीपूर्ण भए पनि सफलता प्राप्त भएको बताए ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले बाघ संरक्षणका लागि सुरक्षा र स्थानीय समुदायको सहभागिता उत्तिकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले बाघको सङ्ख्या वृद्धि र यसको दीर्घकालीन व्यवस्थापन कुनै एक निकाय वा प्रविधिको प्रयासले मात्र सम्भव नहुने धारणा राख्नुभयो ।
उहाँले निकुञ्ज व्यवस्थापनमा मध्यवर्ती क्षेत्रका बासिन्दा, स्थानीय व्यवसायी, सुरक्षाकर्मी, विद्यार्थी पत्रकार तथा संरक्षण अभियानमा सक्रिय विभिन्न समूहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
बाघको सङ्ख्या बढेसँगै विभिन्न क्षेत्रका सरोकारवालाको दृष्टिकोण पनि फरक–फरक हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “पर्यटन व्यवसायी बाघ बढेकोमा खुसी हुन्छन् भने मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दालाई घाँस–दाउरा गर्न जाँदा सुरक्षाको चिन्ता हुन्छ ।
वैज्ञानिकहरू भने बाघको जनसङ्ख्याको गतिशीलताबारे अध्ययनमा केन्द्रित हुन्छन् । व्यवस्थापकका रूपमा यी सबै पक्षलाई समेटेर अघि बढ्नु हाम्रो दायित्व हो ।” उहाँका अनुसार हालै सम्पन्न क्यामेरा ट्यापिङबाट ६४ पोथी, ५३ भाले र १३ वटा लिङ्ग नखुलेका गरी १२७ वटा बाघको प्रत्यक्ष तस्बिर प्राप्त भएको छ । वैज्ञानिक तथ्याङ्कीय मोडेलका आधारमा चितवन राष्ट्रिय निकुञ्जमा बाघको अनुमानित सङख्या १४५ कायम गरिएको छ ।
प्रत्यक्ष तस्बिरमा देखिएका बाघमध्ये ४९ प्रतिशत पोथी, ४१ प्रतिशत भाले र १० प्रतिशतको लिङ्ग पहिचान हुन नसकेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा बाघविज्ञ डा बाबुराम लामिछानेले बाघको सङ्ख्या एक सयभन्दा माथि रहनु यस क्षेत्रको पारिस्थितिक प्रणाली र बाघको जनसङख्या स्थिर रहेको सङ्केत भएको बताउनुभयो ।
उहाँले भाले बाघले आफ्नो बसोबास क्षेत्र विस्तार गर्ने र नयाँ बासस्थानको खोजीमा एक स्थानबाट अर्को स्थानमा सर्ने स्वभावका कारण बाघ गणनामा वैज्ञानिक विधि अपनाइने जानकारी दिनुभयो ।
