कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले प्राकृतिक जलस्रोतको सदुपयोग गर्दै माछापालनलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण र आत्मनिर्भर आधारका रूपमा विकास गरिने बताउनुभएको छ ।
नेपाल मत्स्य विकास सङ्घको प्रथम साधारणसभाको शुक्रबार चितवनको खैरहनीमा उद्घाटन गर्दै मन्त्री चौधरीले माछा उत्पादनमा मुलुकलाई छिट्टै आत्मनिर्भर बनाउने गरी सरकार नीति तथा कार्यक्रम अघि बढाइरहेको बताउनुभयो ।
उहाँले उन्नत जातका भुरा, गुणस्तरीय दाना, आधुनिक प्रविधि, नयाँ प्रजातिको अनुसन्धान तथा बजार व्यवस्थापनमा जोड दिइएको जानकारी दिनुभयो । अवैध रूपमा हुने माछाको आयात नियन्त्रण गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उहाँको भनाइ छ ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले नेपालमा वार्षिक करिब एक लाख ३१ हजार मेट्रिक टन माछा उत्पादन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपालबाट करिब रु दुई करोड बराबरको स्वदेशी माछा निर्यातसमेत सुरु भइसकेको छ ।
कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले अखाद्य माछाको आयात रोक्दै स्वदेशी किसानले उत्पादन गरेको माछालाई बजारको सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभयो ।
