काठमाडौँ — नेपालमा हाल उत्साहका साथ सञ्चालन भइरहेको प्रतिष्ठित नेपाल भलिबल लिग (NVL) कपमा टिम कर्णाली शिवराजले आफ्नो यात्राको धमाकेदार सुरुवात गरेको छ। कडा प्रतिस्पर्धाका बीच कर्णाली शिवराजले प्रतियोगिताको उपाधि दाबेदार मानिएको अन्नपूर्ण स्पाइकर किङ्सलाई ३-१ को सोझो सेटमा स्तब्ध पार्दै सानदार जित दर्ता गरेको हो।
नेपाली भलिबल जगत्का चर्चित एवं होनहार खेलाडी हिमाल सुनारीको नेतृत्वमा मैदान उत्रिएको गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने टोली अन्नपूर्ण स्पाइकर किङ्सविरुद्ध कर्णाली शिवराजले सुरुवाती मिनेटदेखि नै आक्रामक र सन्तुलित खेल प्रस्तुत गरेको थियो।
एमिलियन स्मेटेकको जादुमयी सेटर भूमिका र निर्णायक प्रदर्शन
यस रोमाञ्चक भिडन्तमा कर्णाली शिवराजको जितका मुख्य नायक पोल्याण्डका राष्ट्रिय खेलाडी एमिलियन स्मेटेक (Emilian Smętek) बने। टोलीमा मुख्य सेटरको भूमिका सम्हालेका स्मेटेकले मैदानमा देखाएको खेल कौशल, सन्तुलित पासिङ र द्रुत निर्णय क्षमताले दर्शक तथा खेल विश्लेषकहरूलाई मन्त्रमुग्ध बनाएको थियो। उहाँको सटिक सेटिङ र रणनीतिक खेलका अगाडि विपक्षी टोली अन्नपूर्ण स्पाइकर किङ्सको रक्षापङ्क्ति विस्थापित बन्न पुगेको थियो। स्मेटेकको यही उत्कृष्ट लयको बलमा कर्णाली शिवराजले ३-१ को सेटमा जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोड्न सफल भयो।
पारदर्शी अनलाइन पोल्याण्ड, चर्चित खेलाडी तथा सामाजिक संस्थाहरूद्वारा उच्च सम्मान
नेपाली राष्ट्रिय खेलकुदको ठूलो मञ्चमा पोल्याण्डका अन्तर्राष्ट्रिय खेलाडीले देखाएको उत्कृष्ट प्रदर्शन र नेपालप्रतिको अगाध मायाले पोल्याण्डमा बसोबास गर्ने नेपाली समुदाय तथा खेलकुद वृत्तमा विशेष उत्साह थपेको छ।
यसै सन्दर्भमा, पारदर्शी अनलाइन पोल्याण्ड, पोल्याण्डमा बसोबास गर्ने नेपाली भलिबलप्रेमी, खेलाडीहरू, खेल क्लबहरू, स्थानीय सामाजिक संघ-संस्था तथा सम्पूर्ण पोल्याण्डवासी नेपाली समुदायको तर्फबाट खेलाडी एमिलियन स्मेटेकप्रति उच्च सम्मान व्यक्त गर्दै NVL कपमा थप उच्च प्रदर्शनका लागि हार्दिक शुभकामना व्यक्त गरिएको छ।
यसै गरी, पोल्याण्डमा नेपाली समुदायले आयोजना गर्दै आएका प्रतियोगिताहरूमा धेरै पटक सर्वोत्कृष्ट खेलाडी (Best Player) को उपाधिबाट सम्मानित, नेपालका चर्चित तथा गण्डकी प्रदेशका पूर्व खेलाडी सञ्जय परियार (Sanjay Pariyar) ले स्मेटेकप्रति सम्मान व्यक्त गर्दै भन्नुभयो— “एमिलियन स्मेटेकको नेपालप्रतिको अगाध माया र यो उच्च स्तरको प्रदर्शनले हामीलाई आगामी दिनका प्रतियोगिताहरूका लागि अझ ठूलो हौसला र प्रेरणा प्रदान गर्नेछ।”
साथै, पोल्याण्डमा नेपाली भलिबल खेलका सुरुआतकर्ता एवं खेलाडी मदन चन्द ठकुरी (Madan Chand Thakuri) ले पनी EMILIAN SMETEK प्रति उच्च सम्मान व्यक्त गर्दै हामी जस्ता भलिवल खेललाई माया गर्ने खेलाडीहरूको लागी प्रेरणाको श्रोत वन्ने पारदर्शी अनलाईन पोल्याण्ड लाई जानकारी दिनूभयो।तथा नेपाल मगर संघ शाखा पोल्याण्ड परिवार ले पनि एक विज्ञप्ती जारी गर्दै स्मेटेकको नेपालप्रतिको लगाव परदेशिएका नेपाली खेलाडीहरूका लागि प्रेरणाको स्रोत बनेको र यसले नेपाल-पोल्याण्डबीचको खेलकुद भाइचारालाई अझ मजबुत बनाएको बताएका छन्।
एमिलियन स्मेटेकको उत्कृष्ट लय र टोलीको समन्वयात्मक प्रदर्शनसँगै कर्णाली शिवराज यसपटकको NVL कपको बलियो उपाधि दाबेदारका रूपमा अगाडि बढेको छ।
