चितवनका दुग्ध किसानले दूधको उत्पादन लागत बढ्दै गएको भन्दै खरिद मूल्य पुनरावलोकन गरी मूल्य वृद्धि गर्न सरकारसँग माग गरेका छन्।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको टोली दूधको मूल्य बढाउन माग गर्दै काठमाडौं पुगेको छ। टोलीले बुधबार कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी, मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र तथा कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीलाई छुट्टाछुट्टै भेट गरी ज्ञापनपत्र बुझाएको हो।
संघका अध्यक्ष किशोर बगाले र सचिव कल्याण अधिकारीले संयुक्त रूपमा बुझाएको ज्ञापनपत्रमा पछिल्लो समय पशुपालन तथा दूध उत्पादनमा लाग्ने लागत निरन्तर बढ्दै गएको उल्लेख गर्दै किसानले उत्पादन गर्ने दूधको खरिद मूल्य पुनरावलोकन गर्न सरकारसँग आग्रह गरिएको छ।
किसानले उत्पादन लागतअनुसार दूधको उचित मूल्य कायम हुन नसक्दा दुग्ध व्यवसाय सञ्चालनमा चुनौती थपिँदै गएको जनाउँदै तत्काल मूल्य समायोजनका लागि आवश्यक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
संघले किसानको लागत, श्रम तथा उत्पादनसँग जोडिएका समग्र पक्षलाई ध्यानमा राखी दूधको खरिद मूल्य वैज्ञानिक ढंगले निर्धारण गर्नसमेत माग गरेको छ।
