चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष किशोर बगालेले नेपालीहरूको महान् पर्व विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
अध्यक्ष बगालेले पर्वहरूले नेपाली समाजमा आपसी सद्भाव, एकता, भाइचारा, सहिष्णुता र सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै सबै नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।
उहाँले चाडपर्वसँगै कृषि तथा दुग्ध क्षेत्रका किसानको अवस्थालाई समेत राज्यले प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ। किसानले समयमै गुणस्तरीय मल, बिउ तथा आवश्यक कृषि सामग्री प्राप्त गर्ने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
त्यसैगरी दुग्ध उत्पादक किसानले उत्पादन गरेको दूधको भुक्तानी समयमै पाउने व्यवस्था सुनिश्चित गर्नुपर्ने उहाँको भनाइ छ। किसानले लामो समयसम्म आफ्नो उत्पादनको रकम नपाउँदा कृषि तथा पशुपालन व्यवसायप्रति निराशा बढ्ने भन्दै दुग्ध किसानको भुक्तानी प्रणालीलाई सहज, नियमित र प्रभावकारी बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो।
अध्यक्ष बगालेले पछिल्लो समय युवाहरू वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेका अवस्थामा कृषि तथा पशुपालनलाई सम्मानजनक र आम्दानीको भरपर्दो क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा पनि जोड दिनुभयो। युवालाई कृषि पेशामा आकर्षित गर्न राज्यले आधुनिक प्रविधि, सहुलियतपूर्ण ऋण, अनुदान, बजारको सुनिश्चितता तथा उत्पादनको उचित मूल्य उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ।
कृषि र पशुपालनमा युवाको सहभागिता बढाउन सके मुलुकमा रोजगारी सिर्जना हुनुका साथै कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समेत महत्वपूर्ण योगदान पुग्ने अध्यक्ष बगालेले बताउनुभयो।
उहाँले आगामी दिनमा किसानका समस्या समाधानका लागि सरकार, सहकारी तथा निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको उल्लेख गर्दै पर्वहरूले सबैमा नयाँ उत्साह, ऊर्जा र सकारात्मक सोचको विकास गरून् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ।
