विजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीहरूका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ ।
आश्विन शुक्ल एकादशी अर्थात् पापाङ्कुशा एकादशीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्ने परम्परा नेपाली समाजका कतिपय ठाउँमा रहिआएको छ ।
दसैँको मुख्य दिन घर पुग्न नसकेका छोरीचेली, आफन्त तथा टाढा रहेका परिवारका सदस्यहरू यस अवधिमा टीका थाप्न आउने गर्छन् । त्यसैले विजयादशमीपछि पनि घरघरमा टीका लगाउने र आफन्तसँग भेटघाट गर्ने क्रम जारी रहन्छ।
हिन्दु पात्रोअनुसार आश्विन शुक्ल पक्षको एघारौँ तिथिलाई पापाङ्कुशा एकादशी भनिन्छ । वैष्णव परम्परामा यस एकादशीलाई विशेष महत्त्वका साथ लिइन्छ । यस दिन भगवान् विष्णुको पद्मनाभ स्वरूपको पूजा–आराधना गर्ने धार्मिक मान्यता छ ।
धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार यस एकादशीको व्रत र भगवान् विष्णुको उपासनाले पापबाट मुक्ति प्राप्त हुने विश्वास गरिन्छ । यस दिन व्रत बस्ने, फलाहार गर्ने, पूजा–पाठ गर्ने तथा एकादशी महात्म्यको कथा श्रवण गर्ने चलन छ ।
व्रतको सुरुवात बिहान स्नान गरी चोखो वस्त्र धारण गरेर गरिन्छ । पूजापाठ तथा मन्दिर दर्शनपछि एकादशीको महिमा सुन्ने र अन्न तथा गेडागुडी नखाई फलफूल वा फलाहार ग्रहण गर्ने धार्मिक परम्परा रहेको छ ।
