आगामी स्थानीय तहको निर्वाचन फागुनको अन्तिम साता वा चैतको पहिलो साता गर्ने विषयमा चर्चा हुन थालेसँगै राजनीतिक दलहरूमा चुनावी सरगर्मी बढ्न थालेको छ।
निर्वाचनमा उम्मेदवारी सुनिश्चित गर्ने आकांक्षा सहित विभिन्न दलका नेता तथा कार्यकर्ताहरू पार्टी परिवर्तन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा प्रवेश गर्न थालेका छन्।
पर्सामा राष्ट्रिय मुक्ति पार्टी नेपालका सहमहासचिव नेजामुद्दिन शमानी र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मधेस प्रदेश कमिटी सदस्य प्रभाकर गुप्ताले आ–आफ्नो पार्टी परित्याग गरी रास्वपाको सदस्यता लिएका छन्। उनीहरूको प्रवेशलाई आगामी स्थानीय निर्वाचनको तयारीसँग जोडेर हेरिएको छ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका सहमहासचिव शमानीले रास्वपाको आधिकारिक अनलाइन प्रणालीमार्फत पार्टीको साधारण सदस्यता लिएका हुन्। उनी आगामी स्थानीय निर्वाचनमा पोखरिया नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार बन्ने उद्देश्यले रास्वपामा प्रवेश गरेको बताइएको छ।
शमानीले आफू राष्ट्रिय मुक्ति पार्टीबाट रास्वपामा प्रवेशप्रक्रियामा लागेको बताए। उनी लायन्स क्लबमार्फत सामाजिक गतिविधिमा समेत सक्रिय रहँदै आएका छन्।
यसैगरी, पर्साको वीरगन्ज महानगरपालिका–१०, घडिअर्वा निवासी प्रभाकर गुप्ताले पनि नेकपा परित्याग गर्दै रास्वपाको सदस्यता लिएका छन्। दुई दशकभन्दा लामो समयदेखि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको कम्युनिष्ट धारको राजनीतिमा सक्रिय रहँदै आएका गुप्ताले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए।
गुप्ताले २०६१ सालमा विद्यार्थी राजनीतिमा प्रवेश गरेका थिए। २०६३ सालमा अखिल (क्रान्तिकारी)को नगर समिति सदस्य, २०६४ सालमा जिल्ला समिति सचिवालय सदस्य तथा २०६६ सालमा ठाकुरराम बहुमुखी क्याम्पसको इकाइ कमिटी अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। उनले २०६५ सालमा ठाकुरराम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सदस्य पदमा प्रतिस्पर्धासमेत गरेका थिए।
