चितवनको भरतपुर महानगरपालिका वडा नं.१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको समयावधि सकिनै लाग्दा रंगशालाको बल्ल पहिलो भेरियसन अर्डर (भिओ) गत असोज २८ मा स्वीकृत भएको छ ।
निर्माण कम्पनीले गतवर्ष माघ १४ गते नै निर्माणको क्रममा देखापरेको क्वानटीटी भेरियसनका लागि पठाए पनि अहिले बल्ल स्वीकृत भएको हो ।
भेरियसन अर्डर भनेको निर्माणको क्रममा भएका थपघट कामको पूर्ण विवरण हो । स्टिमेट भन्दा कुनै ठाउँमा बढी सामग्री लगाउनु पर्ने हुन्छ भने कुनैमा घटाउनु पर्ने । यी सबै कामको मूल्यांकन नै भेरियसन अर्डर हो । जसका कारण लागत घटबढ हुनुको साथै काम पनि थपिएको हुन्छ ।
यहीँ भेरियसन अर्डर स्वीकृत पश्चात रंगशालाको लागत ९.८६ प्रतिशत वृद्धि भएको छ ।सुरुवाती चरणमा ७८ करोड ५० लाख ९१ हजार रुपैयाँ (भ्याटसहित)मा ठेक्का सम्झौता भएकोमा अब लागत बढेर ८६ करोड २४ लाख ८४ हजार रुपैयाँ पुगेको छ । यसले लागत मात्र वृद्धि नभई निर्माणको काम पनि थपिएको छ । त्यस कारण पनि सम्झौता अनुसारको समयमा निर्माणको काम नसकिने निर्माण कम्पनीका व्यवस्थापक सम्राट सिलवालले नारायणी अनलाइनलाई जानकारी दिए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण गर्ने समय आउँदो पुस २७ गते सकिदैछ । तर यो अवधिमा रंगशालाको निर्माणको काम भने सम्पन्न नहुने निश्चित जस्तै छ ।
