चितवन मेडिकल कलेजमा कार्यरत मनोरोग विभागका सहप्राध्यापक डा. खगेन्द्र काफ्लेले भबिस्यमा मानसिक समस्या झनै बिकराल बन्दै जाने बताउनुभएको छ ।
पारदर्शी अनलाइनसंग संक्षिप्त कुराकानी गर्नुहुँदै डा. काफ्लेले दैनिक चितवन मेडिकल कलेज भरतपुरमा मानसिक रोगका लक्षण लिएर ७० देखि १२० जनासम्म आउने गरेको बताउनुभएको हो ।
बिरामीहरुमा डराउने, आत्तिने, छिनभरमा नै बिर्सने र काम्ने जस्ता लक्षणहरु देखा परेको बताउनुभयो । त्यस्तै मानसिक रोग कडा तथा मध्यम र सामान्य खालका हुने गरेको समेत डा. काफ्लेले जानकारी दिनुभयो । कडा खालका बिरामीहरुमा बरबराउने, काम्ने, उत्तेजित हुने, रिसाउने जस्ता लक्षण देखापर्ने गरेको उहाँको भनाइ छ ।
मानसिक रोगका कारण सिर्जना हुने आत्महत्या चितवनमा समेत औसत भन्दा बढी देखिएको डा. काफ्लेले बताउनुभयो । यसको निर्मुलको लागि परिवारमा माया प्रेम र सद्भाव कायम राख्ने, फुर्सदको समयमा करेसाबारीको काम या पत्रपत्रिका पढ्ने बानी बसाल्ने, सन्तुलित आहार र भोजन गर्ने सामान्य समस्या देखिनासाथ स्वास्थ्यकर्मीको सल्लाह वा परामर्श लिएरपनि मानसिक रोगबाट बच्न सकिने मनोरोग बिभागका सहप्राध्यापक डा. खगेन्द्र काफ्लेले जानकारी दिनुभयो ।
चितवनमा एन्जाइटी (डर) र डिप्रेशन रोग युवा तथा अन्य उमेर समूहमा साझा समस्याका रुपमा देखा परिरहेको छ । पारिवारिक तनाव झैझगडा, गरिबी र परिवारका सदस्यको मृत्यु आदि कारण उत्पन्न हुने मानसिक रोगबाट मानिसहरु प्रताडित हुने गरेका छन् ।
मानसिक समस्या बंशाणुगत हुने भएकाले आमाबाबुमा भएमा पछि कालान्तरमा सन्तति तथा अन्य पुस्तामा समेत देखा पर्ने हुन्छ । समयमा नै परामर्श लिएर उपचार गराएमा मानसिक समस्या पूर्णतः निको हुने डा. खगेन्द्र काफ्लेले जानकारी दिनुभयो ।