नेपाल इन्जिनियर्स एसोसिएसनको तेस्रो प्रादेशिक कार्यकारिणी समिति, बागमती प्रदेशका लागि केन्द्रीय अध्यक्ष पदमा इ. सुवास चन्द्र बरालले उम्मेदवारी दिनुभएको छ ।
उहाँ नेपाली कांग्रेस निकट (लोकतान्त्रिक)समूहबाट उम्मेदवारी दिनुभएको हो । पारदर्शी अनलाइनसंग कुराकानी गर्नुहुँदै इ. बरालले देशका विभिन्न सार्वजनिक निकायहरुमा इन्जिनियर सचिव रहनेगरी दरबन्दी स्वीकृत हुनुपर्ने बताउनुभएको छ ।
हाल करार सेवामा कार्यरत (आइटी) इन्जिनियरहरुका लागि स्थायी दरबन्दीको माग दिलाउन तत्काल अपरिहार्य रहेको बरालले बताउनुभयो ।
पेशागत सुरक्षा तथा स्वास्थ्यको कार्यान्वयन हरेक इन्जिनियरको कार्यस्थलमा सुनिश्चित गर्न र कार्यक्षेत्रमा दुर्घटनामा परी अङ्गभङ्ग भएका तथा ज्यान गुमाएका इन्जिनियरका परिवारलाई राज्यले राहत दिनुपर्ने धारणा राख्नुभयो ।
इन्जिनियरका समस्या समाधानमा राज्य मौन बसेको उल्लेख गर्दै उहाँले उचित पारिश्रमिकको व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । सबै सरकारी तहमा इन्जिनियरिङसंग सम्बन्धित दरबन्दीलाई पुनरावलोकन गर्दै वस्तुपरक बनाउनका लागि आफूले केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिएको बताउनुभयो ।
यसअघिपनि यस संस्थाले आफ्नै भौतिक संरचना संचालन, नेपालमा इन्जिनियरिङ परिषदको स्थापनामा नेतृत्वदायी भूमिका र (ने.इ.ए.) तालिम केन्द्रको समेत थुप्रै व्यवस्था गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
बि.स. २०१९ मा स्थापना भएको नेपाल इन्जिनियर्स एसोसिएसन संस्थाले इन्जिनियरहरुको हकहित र अधिकारको लागि वकालत गर्दै आइरहेको छ ।
उता, बागमती प्रदेशका लागि सभापति पदमा इ. बलराम पुडासैनीले उम्मेदवारी दिनुभएको छ । संस्थाको विकेन्द्रीकरण तथा क्षमता बिस्तार, आर्थिक रूपमा सक्षम तथा दिगो संस्था निर्माण र इन्जिनियरका हकहित र अधिकारको सुनिश्चितता गराउने उदेश्यका साथ आफूले सभापति पदमा उम्मेदवारी दिएको इ. पुडासैनीले बताउनुभयो । उहाँले इन्जिनियरहरुको पेशागत सुरक्षाको प्रत्याभूति गराउन तत्काल राज्य लाग्नुपर्नेमा जोड दिनुभयो ।
निजी इन्जिनियरिङ कलेजमा नेपाल सरकारले छुट्टाएको १० % (प्रतिशत) छात्रवृत्ति कोटाको विषयमा बैधानिकता दिलाउने प्रावधान लागू गराउने प्रतिबद्धता समेत जाहेर गर्नुभयो । नेपाल इन्जिनियर्स एसोसिएसनको केन्द्र र प्रदेश दुवै तहमा यही भदौ २८ गते निर्वाचन हुँदैछ ।