विश्व हिन्दु युवा संघ जिल्ला कार्यसमिति चितवनले संविधान दिवसलाई आज कालो दिनका रूपमा मनाएको छ ।
समितिले एक प्रेस बिज्ञप्ति जारी गर्दै वैदीक सनातन हिन्दू धर्मालम्वीहरुका लागि असोज ३ कालोदिन भएको बताएको हो ।
बहुसंख्यक हिन्दूराज्य भएको मुलुकलाई जबर्जस्त धर्म निरपेक्षता बनाइएको भन्दै अहिलेको संविधान देशका लागि घातक भएको विश्व हिन्दू युवा संघ चितवनका अध्यक्ष घनश्याम पौडेलले बताउनुभयो ।
जनविद्रोहको माध्यमबाट सत्ता कब्जा गर्न उद्धत तत्कालीन माओवादी पार्टी र अस्तित्व समाप्त हुनै लागेका तत्कालीन संसदवादी ७ दलका नेताहरुकै कारण देशको अस्तित्व गुमेको पौडेलको भनाइ छ । २०६२/०६३ को जनआन्दोलनको मर्म विपरित अमेरिका र यूरोपियन यूनियन जस्ता दाताहरु रिझाउन जनताको आवाज निमोठी लादिएको धर्म निरपेक्षता सम्पूर्ण सनातन हिन्दू धर्मालम्बीहरुलाई स्वीकार्य नभएको उक्त प्रेस बिज्ञप्तीमा जनाइएको छ । त्यहाँ लेखिएको छ, जनताको संविधानको नाम दिइएको नेपालको संविधान २०७२ को धर्म निरपेक्षताको महल हामीलाई स्वीकार्य छैन ।
विना जनमत संग्रह जनताको सुझावलाई धोती लगाएर लादिएको धर्म निरपेक्षता हटाएर धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दू राष्ट्र नेपाल उल्लेख नगरिएसम्म हामीले यो सविधान हाम्रो नभएको प्रष्ट पारेका छौं ।
“मरे बलिदान, बाँचे स्वाभिमान, हिन्दु राष्ट्र नेपाल, हाम्रो अभियान” भन्ने नारासहित गरिदै आइएको सो अभियानले हिन्दू धर्मको रक्षा र धर्मका नाममा भएका बेथिति र जबर्जस्त भइरहेको धर्मान्तरणका गतिविधिलाई समेत समितिले रोक्नको लागि पहल गर्दै आइरहेको विश्व हिन्दू महासंघ नेपालका अध्यक्ष प्रेम गैरेले बताउनुभयो ।