पल्लव साहित्य प्रतिष्ठानले यस बर्ष चितवनकी अग्रज साहित्यकार एवं समिक्षक उमा कार्कीलाई सम्मान गरेको छ ।
उहाँ काजीमान तथा नन्दकुमारी, शान्तिकुमारी श्रेष्ठ रत्न पुरस्कार एवं पल्लव राष्ट्रिय साहित्य सम्मान २०८१ बाट सम्मानित हुनुभएको हो ।
भरतपुर ३ बेलचोक नारायणगढ निवासी उमा कार्कीले साहित्य क्षेत्रमा बिगत लामो समयदेखि पुराएको योगदानको कदर गर्दै उहाँलाई सम्मान गरिएको पल्लव साहित्य प्रतिष्ठानले जनाएको छ ।
पल्लव साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष ऋषि प्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व रजिस्ट्रार एवं मध्य पश्चिम बिश्वविद्यालयका प्राध्यापक डा. महेन्द्रकुमार मल्लको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्नुहुँदै प्राध्यापक मल्लले नेपाली भाषा साहित्यका क्षेत्रमा उमा कार्कीले खेलेको भूमिका सराहनीय भएको बताउनुभयो । स्वदेश तथा बिदेशमा भएरपनि कार्कीले निरन्तर समाजसेवा र साहित्यमा पुराउनुभएको योगदानले अरुलाईपनि थप प्रेरणा मिल्ने बिश्वास व्यक्त गर्नुभयो ।
साहित्यकार उमा कार्की स्वदेशमा मात्र नभई बिदेशमा समेत परिचीत नाम हो । उहाँले बिदेशमा अलपत्र परेका थुप्रै चेलीहरुको उद्दार र कतिपयको बिहेदान समेत गरिदिनुभएको छ ।
उहाँ महिला अधिकारकर्मी समेत हुनुहुन्छ । बिगत लामो समयदेखि अस्ट्रेलिया बस्दै आउनुभएकी कार्कीले हालसम्म तीनवटा कृति प्रकाशनमा ल्याउनुभएको छ ।
हिउँको पर्दा (कविता संग्रह) तेस्रो नेत्र (उपन्यास) र आँखीझ्याल (समिक्षात्मक डायरी) यी कृतिहरु पाठकमाझ ज्यादै रुचाइएका छन् ।