माडी नगरपालिका-७ स्थित पतरेखाेलाकाे पुल निर्माणकाे ठेक्का पाएकाे लोहनी एन्ड ब्रदर्स कन्स्ट्रक्सनकाे ठेक्का सम्झाैता रद्द गर्न झण्झटिलाे प्रकृयाका कारण पतरे खाेलामा पुल निर्माण कार्य अझै ढिलाइ हुने देखिएकाे छ ।
हालसम्मकाे अवस्था मुल्यांकन गर्दा माडीका सबै खाेलाहरूमा पुल निर्माण कार्य सम्पन्न भैसक्दा पनि माडीमा पतरे मात्रै अलपत्र हुने देखिएकाे छ ।
पतरे खाेलामा पुल निर्माणका लागि हुलाकी सडक आयोजनाकाे कार्यालयले लोहोनी एन्ड ब्रदर्स कन्स्ट्रक्सनसँग २०७४ साल साउन ११ गते पहिलो पटक सम्झौता गरेको थियो । तर अहिलेसम्म तीन पटक म्याद थप हुँदा पनि निर्माण कार्य अगाडि बढ्न सकेको छैन । जसले गर्दा पतरे खाेलामा पुल निर्माणकाे लागि सम्झाैता भएकाे ३ करोड ८४ लाख २५ हजार ४६१ रुपैयाँ त्यसै थन्किएको छ ।
भौतिक योजना तथा पूर्वाधार मन्त्रालयका सचिव केशव शर्माले समयमा निर्माण सम्पन्न नगरी लापरबाही गर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गर्ने अधिकार आयोजनासँग भएकाे बताउनुभयाे । तर सम्झौता रद्द गर्ने प्रक्रिया झन्झटिलो हुने भएकाले सकेसम्म पुरानै ठेकेदारलाई काम गर्न दिनुपर्ने हुलाकी सडक आयोजनाका निर्देशक कुवेरसिंह नेपालीकाे जाेड छ ।
यद्यपि, आयोजनाका निमित्त प्रमुख सञ्जयकुमार ठाकुरका अनुसार २०८० साल असार मसान्तमा सकिएकाे पतरे खाेलामाथि पुल निर्माणकाे म्याद थप नगरिएकाे र निर्माण व्यवसायीले काम नगरेका कारण ठेक्का रद्द गर्न प्रक्रिया अगाडि बढेकाे बताउनुभयो ।