राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगरपालिका समितिकी कोषाध्यक्ष मनरुपा पौडेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
माघ १९ गते पार्टीका सभापति समक्ष लिखित रूपमा राजीनामा पेश गर्दै उहाँले पार्टीभित्र पारदर्शिता र सिद्धान्तगत निष्ठालाई अझ बलियो बनाउने उद्देश्यले यस्तो निर्णय लिएको उल्लेख गर्नुभएको छ ।
पार्टीको स्थापना कालदेखि अग्रपङ्क्तिमा रहेर सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएकी पौडेलले रास्वपाको “परिवारवाद निषेध” नीतिप्रति दृढ आस्था व्यक्त गर्नुभएको हो । उहाँका श्रीमान् कृष्णहरि पौडेल हाल रास्वपाको केन्द्रीय शिक्षा विभागका उपप्रमुख हुनुहुन्छ ।
त्यसै सन्दर्भमा, “एकै परिवारका दुई सदस्य पार्टीको जिम्मेवार भूमिकामा रहँदा उत्पन्न हुन सक्ने आशंका, अन्योल वा आलोचना पार्टीको साखमा आँच आउन सक्छ भन्ने चिन्ताले” आफू सक्रिय राजनीति बाट अलग हुने निर्णयमा पुगेको नेतृ पौडेलले स्पष्ट पार्नुभएको छ ।
“पार्टीको नीतिप्रति मेरो प्रतिबद्धता अझ बलियो रहन्छ,” पौडेलले आफ्नो राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ “राष्ट्रिय स्वतन्त्र पार्टी मेरो लागि केवल राजनीतिक संस्था होइन, समावेशी र समृद्ध समाज निर्माणमा समर्पित एक आदर्शिक परिवार हो।”
पार्टीको “जान्नेलाई छान्ने” र “परिवारवाद निषेध” गर्ने मूलमन्त्रले आफूलाई निरन्तर प्रेरित गरेको उल्लेख गर्दै आफ्नो भूमिकामा कहिल्यै कुनै सम्झौता नगरेको र अबको यात्रा पदीय जिम्मेवारी बाहिरबाट सकारात्मक समर्थन मार्फत् जारी रहने स्पष्ट संकेत दिनुभएको छ ।
मनरुपा पौडेलको यो निर्णयले राजनीतिक वृत्तमा व्यापक चर्चा पाएको छ । कतिपयले यसलाई राजनीतिक नैतिकताको उदाहरणको रूपमा व्याख्या गरेका छन् । पार्टीभित्र आन्तरिक निष्ठा र मूल्यको सम्मान गर्दै व्यक्तिगत सरोकारभन्दा माथि उठेर गरिएको निर्णयले नेपाली राजनीतिमा नयाँ संस्कारको सन्देश दिने विश्वास गरिएको छ ।
रास्वपा भरतपुर महानगरपालिका समितिभित्र पौडेलको निर्णयलाई अत्यन्तै नैतिक, साहसिक र उदाहरणीय कदमका रूपमा चर्चा गरिएको छ। एउटै परिवारभित्र दुई जना महत्वपूर्ण पदमा रहनु पार्टीको मूल्य र आचारसंहितासँग मेल नखाने ठहर गर्दै पौडेलको निर्णय स्वागतयोग्य भएको भनिएको छ।
उहाँको राजीनामा स्वीकृत गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी, भरतपुर महानगरले कोषाध्यक्ष पदमा आकांक्षा पोखरेललाई नियुक्त गरेको जानकारी प्राप्त भएको छ ।