व्यावसायिक किट विकास फार्म भण्डाराले दुई जातका धानको मूल बीउ उत्पादनको काम सुरु गरेको छ । राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथ धनुषाबाट ल्याइएको धानको मूल बीउ उत्पादन गर्न थालिएको हो ।
फार्म प्रमुख सुरुची त्रिपाठीका अनुसार मकवानपुर १ र हर्दिनाथ ६ जातको धानको मूल बीउ उत्पादन थालिएको हो । त्यसका लागि फार्म रहेको जग्गामा बीउ राखिएको छ । उहाँले भन्नुभयो, “दुई हेक्टर क्षेत्रफलमा धानको बीउ उत्पादन गर्ने गरी काम गरिएको छ ।”
बीउ उत्पादनका लागि हर्दिनाथ ६० किलो र मकवानपुर ३० किलो धान ल्याएर ट्रेमा बीउ लगाइएको छ । यहाँ उत्पादित बीउलाई पछि समुह र सहकारीमार्फत किसानकामा पुराइने छ ।
दुई हेक्टर जग्गामा करिब ५० क्वीन्टल धानको बीउ उत्पादन हुने गरेको उहाँले बताउनुभयो । विगतका वर्षमा सावित्री, मकवानपुर १ र बहुगुणी जाताका धानको बीउ उत्पादन गरी किसानकामा पुर्याइएको उहाँले बताउनुभयो ।
