कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारको सुरक्षा तथा संरक्षणमा राज्यको भूमिका अनिवार्य भएको बताउनुभएको छ ।
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित पत्रकार स्वास्थ्य बिमा पोलेसी हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री कँडेलले पत्रकारिता पेसा जोखिमपूर्ण मात्र नभई लोकतन्त्रको मेरुदण्ड भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पत्रकारिता सधैँ सत्य खोज्ने, जनताको आवाज बुलन्द पार्ने पेसा हो । यस्तो संवेदनशील र कठिन जिम्मेवारी निर्वाह गर्ने पत्रकारको सुरक्षामा राज्यको चासो र संरक्षण अपरिहार्य हुन्छ ।” प्रदेश सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै राज्य र सञ्चारकर्मीबीच पारदर्शीता, आपसी सम्मान र सहकार्य आवश्यक रहेको मुख्यमन्त्री कँडेलको भनाइ थियो ।
स्वास्थ्य बिमा कार्यक्रमले पत्रकारको सुरक्षाप्रतिको राज्यको दायित्व बोध, लोकतान्त्रिक मूल्य र मानव अधिकारको पक्षमा सरकारको प्रतिबद्धता पूरा हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका ६९३ जना क्रियाशील पत्रकारको स्वास्थ्य बिमा गरेको छ । यो कार्यक्रम नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको सहकार्यमा प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत निःशुल्क रुपमा सञ्चालन गरिएको हो ।
