कैलाली कारागार ३६ घण्टादेखि कैदीबन्दीकै नियन्त्रणमा रहेको छ । एक जनाको मृत्यु र ४९ जना घाइते हुने गरी हिंसात्मक घटना भएपछि ३६ घण्टा देखि कारागार कैदीबन्दीकै नियन्त्रणमा रहेको हो ।
घटनापछि कैदीबन्दीहरूले भित्रबाट ताला लगाउँदै थुनुवा कक्ष पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएका छन् । उनीहरूले सुरक्षाकर्मी र कारागार प्रशासनका कसैलाई पनि त्यहाँ प्रवेश गर्न दिएका छैनन् ।
घटनाको ३६ घण्टा बितिसक्दा समेत कारागारभित्रको वास्तविक कुरा सार्वजनिक हुन सकेको छैन भने स्थानीय प्रशासनले स्थिति साम्य गर्न सकेको छैन ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले अहिलेसम्म सुरक्षाकर्मी प्रवेश गर्न नपाएको कुरा सत्य भएको बताए । दिउँसो मानव अधिकार आयोगको टोलीसँगै कारागारको निरीक्षणमा जाने तयारी रहेको उनले बताए ।
कैदीबन्दीहरूले कारागारभित्र भइरहेका समस्याका बारेमा पटक–पटक स्थानीय प्रशासनले वेवास्ता गरेको आरोप लगाएका छन् ।
१४ साउनमा कारागारमा रहेका ५९० जना कैदीबन्दीले मानव अधिकार आयोगलाई ध्यानाकर्षण पत्र पठाउदै कारागारभित्र आफूहरू असुरक्षित रहेको भन्दै सुरक्षा माग गरेका थिए ।
सोही पत्रका आधारमा आयोगले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, कारागार विभाग लगायतका निकायलाई पत्राचार गर्दै उचित सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको थियो ।
तर उक्त कुरालाई गम्भीर रूपमा नलिँदा शुक्रबार हिंसात्मक घटना हुन पुगेको मानव अधिकार आयोगको ठहर छ ।