जिल्लामा प्रहरी सेवाको पहुँच बढाउने र संरचनागत स्तरोन्नति गर्ने तयारी थालिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले जिल्लाका केही प्रहरी कार्यालयलाई स्तरोन्नति गरी नयाँ स्थायी प्रहरी चौकी स्थापना गर्ने तयारी भइरहेको जानकारी दिए ।
इलाका प्रहरी कार्यालय भण्डारा र माडीलाई प्रहरी प्रधान कार्यालयबाटै मुद्दा अनुसन्धानको अधिकार दिइएको छ । स्थानीयले मुद्दासम्बन्धी कामका लागि अब जिल्ला धाउन पर्ने छैन ।
भरतपुर विमानस्थलमा हालसम्म जुनियर अधिकृतको नेतृत्वमा रहेको टोलीको कमान्ड अब प्रहरी निरीक्षक दर्जाका वरिष्ठ अधिकृतले सम्हाल्नेछन् । उता कालिका नगरपालिकाको जुटपानी प्रहरी चौकीमा निरीक्षक दर्जाका अधिकृत खटाइ लागुऔषध, वन अपराध र प्राकृतिक स्रोत दोहन नियन्त्रणमा सक्रियता देखाइने उनले जानकारी दिए ।
इच्छाकामनाको मायाटार क्षेत्रमा पनि छिट्टै नयाँ चौकी स्थापना गर्ने आदेश प्राप्त भइसकेको र एक साताभित्र सञ्चालन हुने तयारी भएको प्रमुख पुरीले बताए । हाल जिल्लामा साना–ठूला गरी ७४ वटा प्रहरी युनिट सञ्चालनमा छन् । मायाटार चौकी थपिएपछि अस्थायी चौकीको संख्या ३६ पुग्नेछ ।जिल्लामा बालबालिकाको अपराधमा संलग्नता बढ्दो अवस्थामा रहेको छ । त्यसलाई रोक्नका लागि ब्यापक रुपमा प्रहरी परिचालन गरिने उनले बताए ।
अहिले लागुऔषध ओसारपसरामा किशोरकिशोरीको प्रयोग हुने गरेको समेत उनले बताए । उनका अनुसार जिल्लामा विवाह वा प्रेमसम्बन्धका कारण घर छाड्ने, हिंसामा पर्ने क्रम समेत छ । चितवनमा चोरीका घटनामा बाहिरी जिल्लाबाट बालबालिकालाई ल्याएर प्रयोग गरिएको उनले बताए ।