माडी माइतीघर, नेपालले आयोजना गरेको तीजको शुभकामना तथा दर खाने कार्यक्रम आइतबार सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।
कार्यक्रममा ४२ जना दिदीबहिनीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी सबैलाई मायाको चिनोस्वरूप डोरी–धागो प्रदान गर्दै कार्यक्रममा दिदीबहिनीहरूले देखाएको माया, सद्भाव र सक्रिय सहभागिताले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्याएको अध्यक्ष मनरुपा पौडेलले बताउनुभयो।
उहाँले सबै सहभागीप्रति विशेष आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू निरन्तर गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
यस अवसरमा विशेष सांस्कृतिक प्रस्तुति सहित “जुटेउँ हामी दिदीबहिनी…” बोलको तीज गीत समेत प्रस्तुत गरिएको थियो । उक्त गीतले महिला एकता, सशक्तिकरण, सामाजिक चेतना र आत्मनिर्भर जीवनको सन्देश बोकेको छ ।
गीतमार्फत महिला हिंसा अन्त्य, समानता स्थापना, आत्मनिर्भरता र समाज रूपान्तरणमा महिलाको योगदानलाई प्रोत्साहित गरिएको थियो।
माडी माइतीघर नेपाल महिला–बालबालिकाको अधिकार संरक्षण, सामाजिक सचेतना अभिवृद्धि तथा स्थानीय समुदायबीचको एकता र आपसी सहयोगलाई प्राथमिकताका साथ अघि बढाउने उद्देश्यले स्थापित संस्था हो ।
माडीलाई आफ्नो मूल घर बनाएकी तर हाल देश–विदेशका विभिन्न स्थानमा बसोबास गरिरहेकी महिलाहरूको साझा भावना, सम्बन्ध र सामाजिक उत्तरदायित्वको समर्पणबाट जन्मिएको यो संस्थाले विगतदेखि नै सामाजिक गतिविधि, सचेतना कार्यक्रम, आपतकालीन सहयोग तथा समुदायमैत्री अभियानलाई निरन्तरता दिँदै आएको छ।
आयोजकका अनुसार, यसपटकको तीज दर खाने कार्यक्रमले संस्थाको सामाजिक एकता र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।