राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रेका जेन–जीमाथि गोली प्रहार गरी हत्या गरेकाले तत्काल सरकार विघटन गर्न माग गरेको छ ।
सोमबार भएको जेन–जीहरूको प्रदर्शनपछि बसेको आकस्मिक पदाधिकारी बैठकले वर्तमान सरकारको उपादेयता सकिएको निष्कर्ष निकाल्दै विघटन गर्न आह्वान गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।
‘आजको घटनाबाट वर्तमान सरकारको उपादेयता समाप्त भएको राप्रपाको निष्कर्ष रहेको छ,’ उनले भने, ‘तत्काल सरकार विघटन र सबै समस्याको समाधान तथा नयाँ समझदारीको लागि राप्रपा आह्वान गर्दछ ।’ सामाजिक सञ्जाल बन्दको विरोधमा भएको प्रदर्शनमा सरकारले दमन गरेको राप्रपाको ठहर छ ।
‘शान्तिपूर्ण प्रदर्शनमाथिको जंगली रवैयाबाट सरकारको स्वेच्छाचारी, अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र उदांगो भएको छ,’ राप्रपाले भनेको छ, ‘आजको बर्बर दमनपूर्ण घटनालाई राप्रपाले नेपाली इतिहासकै क्रुर र दुखद् घटनाको रूपमा लिएको छ ।’

