नेपाली कांग्रेसले जेनजी पुस्ताको भावना बमोजिम अगाडि यात्रा तय गर्न तयार रहेको बताएको छ ।
सबै पक्षसँग आवश्यक परामर्श गरी वार्ता र संवादमार्फत अहिलेको विषम परिस्थितिलाई निकास दिन कांग्रेसको आग्रह छ । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै वार्ता र संवादमार्फत निकास दिनका लागि राष्ट्रपतिले लिएको पहलकदमीको स्वागत गरेका छन् ।
कांग्रेसले संविधान र लोकतान्त्रिक बाटोबाटै जेनजी पुस्ताको भावना बमोजिम अगाडि यात्रा तय गर्नुपर्ने बताएको छ । ‘हामी यो पहललाई जेनजी पुस्ताको भावना बमोजिम नै निष्कर्षमा पुर्याउन आग्रह गर्दछौं । त्यसो गर्दैगर्दा ‘आवश्यकताको सिद्धान्त’ बमोजिम हुने निर्णयलाई पनि संविधान बमोजिम वैधानिक बाटोबाट नै अगाडिको यात्रा तय गर्न सकिन्छ र गर्नुपर्छ भन्ने कुराको स्मरण गराउन चाहान्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘विधि विहीनताले थप अराजकता निम्त्याउँछ ।
त्यसैले वार्ताका क्रममा राष्ट्रपतिज्यू र जेनजी पक्षलाई हामी आग्रह गर्छौं– अब देश चलाउन र निर्वाचन गर्न नयाँ राजनीतिक संरचना बनाउँदा देशमा लामो संवैधानिक रिक्तता र शून्यता आउन नदिन हरसम्भव वैधानिक उपाय अपनाइयोस्, संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै यो बेथितिको अन्त्यको मार्गचित्र तय गरियोस् । त्यसमा हाम्रो समर्थन रहनेछ ।‘
साथै, सामाजिक सञ्जाल खोल्न र पदत्याग गर्न गरिएको आग्रह र दबाब स्वीकार्न प्रधानमन्त्रीले ढिलाइ गर्दा स्थिति थप चर्किएर अनियन्त्रित भएको तथ्य स्वीकार्नपर्ने पनि बताएको छ । कांग्रेसले कैयौं सरकारी कार्यालय, मिडिया हाउस, व्यवसायिक प्रतिष्ठानलगायतमा गरिएको आगजनी अत्यन्तै दुःखद् र निन्दनीय भन्दै यो जेनजी आन्दोलनकारीको भावना र घोषणाभन्दा बाहिर हुलमुलमा पसेकाहरुले नियतवश गरेको विश्वंश भएको बताएको छ ।
कांग्रेसले अहिलेको विषम र अस्थिर परिस्थितिबाट उठ्न र पुनर्निर्माणमा जुट्न संयम, संवाद र एकता अपरिहार्य रहेको उल्लेख गरेको छ ।

