हालैको युवा आन्दोलनपछि चितवनका युवामा मतदाता नामावली दर्तातर्फ अभूतपूर्व उत्साह देखिएको छ।
जिल्ला निर्वाचन कार्यालय, भरतपुरमा मतदाता नामावली दर्ता गर्न आउने भीड दिनानुदिन बढ्दै गएको छ, जसमा करिब ९० प्रतिशत नयाँ मतदाता युवा वर्गका छन्।
भरतपुर महानगरपालिका–५ का शमिर शर्मा पनि तीमध्ये एक हुन्। उनी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पहिलोपटक आफ्नो मताधिकार प्रयोग गर्न उत्साहित छन्।“हामी युवा भएकाले देशको दिशा परिवर्तनमा भूमिका खेल्नुपर्छ,” शर्मा भन्छन्, “राम्रो नेतृत्व चयनका लागि मतदान गर्न नाम दर्ता गराएँ।”
त्यस्तै, सञ्चुकुमारी तामाङले पनि पहिलो पटक मतदाता नामावलीमा आफ्नो नाम समावेश गराएकी छिन्। उनी भन्छिन्, “युवा पुस्ताको सोच बुझ्ने र अवसर दिने नेतृत्वका लागि मतदान गर्न चाहन्छु।”
जिल्ला निर्वाचन कार्यालयका अनुसार हाल दर्ता गर्न आउने युवाको संख्या विगत वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको छ। निर्वाचन अधिकारीहरूले यसलाई सकारात्मक संकेतका रूपमा लिएका छन्।
“युवाहरूमा राजनीतिक चेतना र सहभागी हुने उत्साह बढ्नु लोकतान्त्रिक अभ्यासका लागि उत्साहजनक विषय हो,” एक निर्वाचन अधिकृतले बताए।
भदौ २३ र २४ गतेको युवा प्रदर्शनले युवा पुस्तामा परिवर्तनप्रतिको चाहना थप प्रष्ट रूपमा अभिव्यक्त भएको देखिन्छ। अब ती उत्साह मतपेटिकासम्म पुग्ने हो भने, चितवनमा आगामी निर्वाचनले नयाँ र उत्साही मतदाताको प्रभाव देखाउन सक्छ।

