चितवन राष्ट्रिय निकुञ्जले माडी क्षेत्रका स्थानीयवासीले आफ्नै घरमा प्रयोग गर्दै आएको टेबल, र्याक, पलङजस्ता अत्यावश्यक सामाग्री भरतपुर तर्फ पुनः लैजान रोक लगाएपछि माडीबासीले दिनहुँ दुःख झेल्नु परेको छ।
निकुञ्ज प्रशासनले मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति (बफरजोन समिति) गठन नभएको कारण देखाउँदै सहजीकरणमा आनाकानी गरिरहेको स्थानीयवासीहरूको गुनासो छ।
मध्यवर्ती क्षेत्र अन्तर्गतका कर्मचारीहरूका अनुसार घरायसी सामान बाहिर लैजान मिल्ने वा नहुने विषयमा हालसम्म कुनै नयाँ निर्णय नभएको र प्रक्रिया समिति गठनसँग नै जोडिएको छ। नयाँ समिति नबनेसम्म नागरिकलाई सहज बनाउने जिम्मेवारी बोकेका निकाय नै निष्क्रिय बनेपछि आम माडीबासी अनावश्यक झन्झटमा परेका छन्।
यता, स्थानीय तह मातहत रहेको माडी नगरपालिकाले समेत स्पष्ट पहल नगरेको स्थानीयहरूको आरोप छ। माडी–७ का वडाध्यक्ष चन्द्रकुमारी बानियाँका अनुसार वडाबाट सिफारिस दिन नपाइने व्यवस्था भएकाले सहजीकरणको सम्पूर्ण अधिकार मध्यवर्ती समितिकै जिम्मामा छ। ‘‘यो विषयमा कुनै निर्णय भएको छैन। नयाँ समिति गठन नभएसम्म प्रक्रिया अगाडि बढाउन पनि सकिँदैन,’’ वडाध्यक्ष बानियाँले बताउनुभयो।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले पनि नयाँ समिति गठन नहुँदासम्म घरमा प्रयोग भएका सामान बाहिर लैजान अनुमति नदिइने स्पष्ट पार्नुभयो।