पौवादुङमा गाउँपालिकाले खाना पकाउने इन्धनका रूपमा गोबर ग्यासको कार्यक्रम सञ्चालन गरेपछि स्थानीय महिलालाई सहज भएको छ ।
गाउँपालिकाले पशुपालनसँगै गोबर ग्यास उत्पादनलाई जोड दिँदै स्वदेशमै उपलब्ध स्रोत प्रयोग गर्ने लक्ष्यसहित कार्यक्रम विस्तार गरेको हो ।
गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईका अनुसार गत वर्षदेखि नमूनाका रूपमा पशुपालनमा आबद्ध किसानलाई लक्षित गर्दै गोबर ग्यास जडान प्रक्रिया अघि बढाइएको हो । महिला विकास बोर्डमार्फत आत्मनिर्भर कार्यक्रमअन्तर्गत गाई वितरणसँगै गृहिणी महिलालाई लक्षित गरी गोबर ग्यास स्थापना गरिएको उहाँले बताउनुभयो ।
“हामीले महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, उपाध्यक्ष राईले भन्नुभयो, “विशेष गरी पशुपालनमा आबद्ध किसानलाई गोबर ग्यास प्रवद्र्धन गरेर आयातित ग्यासमाथिको निर्भरता घटाउने र भान्सामा थप सहजता ल्याउने उद्देश्य राखेका छौँ ।”
गाउँपालिकामा महिला विकास बोर्डअन्तर्गत गाईपालन, भैँसीपालन, बङ्गुरपालन, बाख्रापालन, तरकारी तथा फलफूलखेती, गड्यौला मल उत्पादनजस्ता कार्यक्रम सबै वडामा सञ्चालन भइरहेका छन् ।

