भरतपुर ९, शरदपुरमा अवस्थित स्टेप बाइ स्टेप बोर्डिङ इङ्लिश स्कुलले आफ्नो २५औं वार्षिकोत्सव तथा रजत महोत्सव भोलि भव्य रुपमा सम्पन्न गर्ने भएको छ।
स्कुलका अध्यक्ष एवं प्रबन्ध निर्देशक जेबी गुरुङको अध्यक्षतामा हुने कार्यक्रममा भरतपुर ९ का वडाध्यक्ष यमलाल कंडेलको प्रमुख आतिथ्यता रहनेछ ।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा वरिष्ठ पत्रकार तथा साहित्यकार डा. नवराज लम्सालको उपस्थिति रहने स्कुलले जनाएको छ।
त्यसैगरी प्याब्सन चितवनका जिल्ला अध्यक्ष मदन पुरी, प्याब्सनका केन्द्रीय सदस्य तथा जिल्लाका प्रमुख सल्लाहकार कृतिनिधि अर्याल, प्रदेश सल्लाहकार टिकाराम चापागाईं, प्रदेश सदस्य विमल क्षेत्रीसहित चितवनका सातवटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको विशेष उपस्थिति रहनेछ।
स्कुलले रजत महोत्सव अघि विभिन्न कार्यक्रम सम्पन्न गरिसकेको छ, जसअन्तर्गत बालबालिकाको प्रस्तुति सहितको बृहत् सांस्कृतिक कार्यक्रम, विज्ञान प्रदर्शन, साइकल र्याली, जिल्लास्तरीय सामुदायिक तथा संस्थागत हाजिरी जवाफ प्रतियोगिता र देशस्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको प्रिन्सिपल कृष्ण भट्टले जानकारी दिनुभयो ।
भोलि हुने मुख्य समारोहमा २५ वर्षको उपलब्धि समेटिएको प्रतिबेदन सार्वजनिक गर्ने, आठौं ‘अंक’को स्मारिका विमोचन गर्ने, पुरस्कार वितरण, ७० देखि ९० वर्षभन्दा बढी उमेरका ९ जना जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ। साथै, स्कुलमा १५ वर्षभन्दा बढी सेवा पुर्याएका कार्यरत तथा पूर्व शिक्षकहरूलाई सम्मान तथा एमबीबीएसमा छात्रवृत्ति पाउन सफल विद्यार्थीलाई विशेष सम्मान प्रदान गरिने स्कुलले जनाएको छ।
स्कुलले स्थापना देखि नै शैक्षिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा पुर्याउँदै आएको योगदानका कारण यो रजत महोत्सवलाई समुदायमै महत्वपूर्ण पर्वका रूपमा लिइएको छ ।

