नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणमा १० खेल सकिँदा सुदूरपश्चिम रोयल्स लगातार तीन जितसहित शीर्षस्थानमा पुगेको छ। समान अंक भए पनि रनरेटका आधारमा विराटनगर किङ्ग्स दोस्रो स्थानमा छ।
ब्याटिङतर्फ विदेशी खेलाडी चम्किएका छन्। कर्णाली याक्सका विदेशी मार्क वाट १४७ रनसहित सर्वाधिक रनकर्ता बनेका छन् र यही सिजनको एकमात्र शतक पनि उनैले प्रहार गरेका हुन्।
चितवनका रवि बोपराले ११८ रनसहित दोस्रो स्थान ल्याएका छन्। नेपाली पक्षबाट लोकेश बम (११४) र कुशल भुर्तेल (११२) उत्कृष्ट प्रदर्शनमा परे।
बलिङतर्फ भने नेपाली खेलाडी अगाडि छन्। विराटनगरका कप्तान सन्दीप लामिछाने ७ विकेटसहित शीर्षमा छन्। सोमपाल कामी र करण केसीले पनि ६–६ विकेट लिएर चम्केका छन्।
सिजनको सबैभन्दा उच्च टिम स्कोर विराटनगरले पोखराविरुद्ध बनाएको २२० रन हो, जबकि कर्णाली ९४ रनमै समेटिँदै सबैभन्दा कम स्कोर गर्ने टिम बन्यो।

