माडी क्षेत्रमा पहिलोपटक ब्रोडब्यान्ड इन्टरनेट सेवा ल्याएर सूचना–प्रविधिको आधारशिला राख्ने टेकमाइन्ड्स नेटवर्क प्रा.लि. अब पूर्णरूपमा अप्टिकल फाइबर प्रणालीमा रूपान्तरण भएको छ।
विगतमा वायरलेस (ताररहित) प्रविधिबाट सेवा दिँदै आएको कम्पनीले चितवन राष्ट्रिय निकुञ्ज हुँदै नयाँ फाइबर कनेक्टिभिटी स्थापनासँगै माडीका उपभोक्ताले अझै छरितो, स्थिर र उच्चगतिको इन्टरनेट पाउन सुरु गरेका छन्।
कम्पनीका माडी प्रतिनिधि सुदर्शन चापागाईंका अनुसार फाइबर कनेक्टिभिटी सुरु भएपछि इन्टरनेटको गुणस्तर र गतिको समस्या न्यून भएको छ। “पहिले वायरलेस सिष्टममा सीमित क्षमता र वातावरणीय असरका कारण स्थिरगतिमा चुनौती थियो। अब अप्टिकल फाइबरमा आएसँगै सेवा भरपर्दाे र उच्च गति दुवै हुने भएको छ,” उनले बताए।
फाइबर विस्तारसँगै टेकमाइन्ड्सले अब IPTV (इन्टरनेट टेलिभिजन) सेवा पनि सुरु गर्ने तयारी गरेको छ। कम्पनीले सेवा शुल्कलाई सुलभ राख्दै ग्रामीण भेगसम्म गुणस्तरीय डिजिटल सेवा पुर्याउने लक्ष्य लिएको चापागाईंले जानकारी दिए।
डेढ दशकदेखि माडीमा सूचना प्रविधि र इन्टरनेट सेवा विस्तारमा सक्रिय चापागाईंले गाउँ–गाउँमा डिजिटल पहुँच पुर्याउन महत्वपूर्ण भूमिका निभाउँदै आएका छन्। माडी जस्तो भौगोलिक चुनौतीयुक्त क्षेत्रमा निजी क्षेत्रको पहलमा गुणवत्ता सुधार हुँदै गएको यस घटनालाई स्थानीयवासीले पनि डिजिटल पूर्वाधार विकासतर्फको ठूलो कदमको रूपमा हेरेका छन्।
टेकमाइन्ड्सका अनुसार आगामी दिनमा माडीका टोल–बस्ती तथा दुर्गम बस्तीहरुमा समेत अप्टिकल फाइबर विस्तार गर्दै उच्च गति, स्थिर र किफायती इन्टरनेट तथा डिजिटल सेवा चरणबद्ध रूपमा उपलब्ध गराइनेछ।

