आउँदो पुस १ गतेदेखि चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु हुने भएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार यो गणना तीन महिनासम्म—पुस, माघ र फागुनसम्म चल्नेछ।
वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार बाघ गणनाका लागि चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझण्डी गरी तीन कम्प्लेक्समा विभाजन गरिएको छ। प्रत्येक ग्रीड (दुई वर्गकिलोमिटर क्षेत्र) मा एक जोडी क्यामेरा १५ रातसम्म राखेर क्रमशः सारिने व्यवस्था हुने छ।
गणनामा सरकारी तथा दातृ निकायसँग भएका करिब ११०० क्यामेरा प्रयोग गरिने र लागत करिब दुई करोड ५० लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ। क्यामेरामा कैद भएका तस्बिरहरूमा बाघका पाटाको आधारमा व्यक्तिगत पहिचान गरी संख्या निर्धारण गरिनेछ।
सन् २०२२ को गणनामा नेपालमा ३३५ वयस्क बाघ फेला परेका थिए, जसमा चितवनमा मात्र १२८ रहेका थिए। बाघ गणना सकिएपछि गत वर्ष बजेट अभावले रोकिएको गैँडा गणना पनि यसपटक वैकल्पिक विधिबाट गरिने तयारी विभागले जनाएको छ।
