कारागार कार्यालय चितवनमा रहेका क्षयरोगीलाई छुट्टै आइसोलेसन कक्ष निर्माण गरिएको छ ।
यहाँ रहेका पाँच जना क्षयरोगी बिरामीलाई कारागारभित्रै छट्टै कक्षमा राखेर उपचार गरिएको छ ।
क्षमताभन्दा बढी कैदीबन्दी रहेको यस कारागारमा गत भदौमा गरिएको परीक्षणका क्रममा कारागारभित्रका आठ जनालाई क्षयरोग देखिएको थियो । त्यसपछि छुट्टै आइसोलेसन कक्ष निर्माण गरी राखिएको कारागार कार्यालय चितवनका प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।
जेनजी आन्दोलनपछि भागेका कैदीबन्दी पुनःफर्किएसँगै आइसोलेसनमा राखेर उपचार गर्न थालिएको हो । उहाँका अनुसार अहिले सो आइसोलेसनमा पाँच जना बिरामी रहेका छन् । उहाँले भन्नुभयो, “आठ जनामध्ये तीन जना अहिलेसम्म फर्किएर आएका छैनन् ।” फर्किएर आएकालाई बीचमा औषधि छुटेको हुँदा पुनःसुरुदेखि नै सञ्चालन गरिएको उहाँले बताउनुभयो । यस कारागारको क्षमता महिलातर्फ ५० जना र पुरुषतर्फ ५०० जनाको रहेको छ ।
अहिले कारागारमा रहेका क्षयरोगीलाई छ महिनामा आइसोलेसनमा राखेर उपचार गरिने उहाँले जानकारी दिनुभयो । अहिले यस कार्यालमा १०४ जना बिरामी रहेका छन् । उनीहरूमध्ये क्षयरोगका बिरामीका कारण अरुलाई सर्ने भएकाले उनीहरूलाई सुरक्षित गरी छ महिनाका लागि आइसोलेसनमा राखिएको हो ।
