चितवनको कालिका नगरपालिका–१०, स्थित सिद्धि चेपाङ छात्रावासलाई नारायणगढका तीन वटा क्लवले लत्ताकपडा सहयोग गरेको छ ।
नारायणगढ लायन्स क्लव, लायन्स क्लव अफ नारायणगढ नारायणी र लियो क्लव अफ नारायणगढले संयुक्त रुपमा छात्रावासमा पुगेर आवश्यक लत्ताकपडा सहयोग गरेको हो ।
छात्राबासलाई जाडोका लागि चाहिने न्यानो कपडाहरु, ब्ल्याङकेट, सिरानी, आवश्यक अन्य सामग्रीहरु सहयोग गरिएको नारायणगढ लायन्स क्लवका अध्यक्ष सनद कुमार पियाले जानकारी दिनुभयो ।
उहाँले विगत केही वर्षयता निरन्तर यस छात्रावासमा आवश्यक सहयोग गरिरहेको भन्दै अब दिर्घकालिन काम गर्न आवश्यक रहेको बताउनुभयो ।
लायन्स क्लव अफ नारायणगढ नारायणीकी अध्यक्ष जोशिला पियाले विगतदेखि यस छात्राबासमा सहयोग गर्दै आएकोमा अहिले जाडोयामलाई ध्यानमा राखेर आवश्यक सामग्री सहयोग गरिएको बताउनुभयो ।
लायन्सका सदस्यहरुबाट आवश्यक सामग्री संकलन गरेर छात्राबासलाई अहिलेलाई चाहिने अतिआवश्यक सामग्री सहयोग गरिएको अध्यक्ष पियाले बताउनुभयो ।छात्राबासमा आवश्यक सामग्री सहयोगका लागि नारायणगढ लायन्सका पूर्व अध्यक्ष शान्त कुमार पियाले संयोजन गर्नु भएको थियो ।

