भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मा सम्हाल्नुभएका कुलमान घिसिङलाई आइतबार तनहुँका विभिन्न ठाउँमा आयोजित कार्यक्रममा स्थानीयको गुनासो सुन्न भ्याइनभ्याइ भयो ।
जिल्लास्थित शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, देवघाट गाउँपालिका, भानु नगरपालिकाका जनप्रतिनिधि एवं स्थानीयवासीले मन्त्री घिसिङलाई विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै अलपत्र विकासे आयोजनामा बजेट विनियोजन गरी काम अगाडि बढाउन आग्रह गर्नुभएको छ ।
मन्त्री घिसिङलाई भौतिक पूर्वाधार, सहरी विकास, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फतका विभिन्न योजनाका बारेमा ज्ञापनपत्र बुझाइएको छ ।
व्यास नगरपालिका–१३ बेलबासका स्थानीय यमबहादुर आलेले तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित १७० घरधुरीलाई मुआब्जा दिलाउन मन्त्री घिसिङ समक्ष आग्रह गर्नुभयो । आलेले तनहुँ जलविद्युत् आयोजनाले यस ठाउँ बाढीको जोखिममा रहेको र पुनर्वासका लागि मुआब्जाको सुझाव भइसकेकाले तत्काल स्थानीयवासीको माग सम्बोधन गर्न घिसिङको ध्यानाकर्षण गराउनुभयो ।
घुमाउने पुल सङ्घर्ष समितिका संयोजक सिद्धान्त थापा मगरले आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने घुमाउने पुल ११ वर्षदेखि अलपत्र रहेकाले यस विषयमा मन्त्री समक्ष ज्ञापनपत्र प्रस्तुत गर्नुभएको छ । ११ वर्षको अवधिमा ३० प्रतिशत मात्रै प्रगति भएको भन्दै मगरले यस पुल नहुँदा यस भेगका हजारौ जनता मारमा परेको उल्लेख गर्नुभयो ।

