इच्छाकामना गाउँपालिका–मुग्लिङ बजारमा आगामी २०८२ पौष ११ गतेदेखि १५ गतेसम्म दोश्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल २०८२ आयोजना हुने भएको छ ।
इच्छाकामना गाउँपालिकाको मुख्य प्रवर्द्धनमा चितवन उद्योग संघ इच्छाकामना समिति र होटल व्यवसायी संघ इच्छाकामना इकाइ समितिको संयुक्त आयोजनामा महोत्सव सञ्चालन हुन लागेको हो ।
महोत्सवको उद्देश्य स्थानीय सुन्तला उत्पादनको प्रवर्द्धन, कृषि पर्यटनको विकास, स्थानीय परिकार र होटल व्यवसायको बजारीकरण तथा कृषक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापना गर्नु रहेको आयोजकले जनाएको छ ।
महोत्सवमा ५० भन्दा बढी सुन्तला तथा फुड स्टल रहनेछन् भने करिब ५० हजार दर्शकले अवलोकन गर्ने र ५० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ ।
महोत्सवका आकर्षणमा उत्कृष्ट सुन्तलाको प्रदर्शनी तथा सुपथ मूल्यमा बिक्री, स्थानीय तथा राष्ट्रिय परिकारका फुड स्टल, राष्ट्रिय चर्चित कलाकार र स्थानीय कलाकारहरूको प्रस्तुति रहेका छन् ।
साथै, दोस्रो दिन व्यवसायिक सुन्तला खेतीको सम्भावना, अवसर र चुनौती विषयक गोष्ठी तथा उत्कृष्ट सुन्तला कृषकलाई सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ ।
निःशुल्क प्रवेश रहेको यस महोत्सवले इच्छाकामना क्षेत्रको कृषि, पर्यटन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

