अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात सौराहामा कोठा पाउन मुस्किल हुने गर्थ्यो । पछिल्ला वर्षहरुमा त्यति भीड नभए पनि राति अबेरसम्म अधिकांश होटल भरिने गर्दछन् ।
क्षेत्रीय होटल सङ्घ नेपालका महासचिव महेश खनालको अनुभवमा राति १२ः०० बजे नयाँ वर्षको स्वागत गरेर आन्तरिक पर्यटक कोठाको अभावमा सौराहाबाट बाहिरिने गर्दथे । सौराहामा भर्खरै सकिएको हात्ती महोत्सव, क्रिशमस र नयाँ वर्षका कारण ३० प्रतिशतभन्दा बढी पर्यटक थपिएका छन् ।
थपिएसँगै ७० प्रतिशत हाराहारी पुगेको थियो । आज साँझ भने सौराहाका अधिकांश होटल भरिने अनुमान गरिएको छ ।
उहाँले भन्नुभयो, “९० प्रतिशतभन्दा माथि कोठाहरु पर्यटकले भरिने छन् ।” मौसमका कारण विगत चार दिनदेखि जहाज नचलेको, दाउन्नेको बाटो अवरुद्ध बनेको र मुग्लिन–नौबिसे सडक मर्मतका कारण यातायात असहज हुँदा अझै सोचे जति पर्यटक आउन नसकेको उहाँ बताउनुहुन्छ ।
जेनजी आन्दोलनपछि निरास बनेका व्यवसायी पछिल्ला दिनहरुमा पर्यटकको आगमन राम्रो भएपछि आशावादी बनेको उहाँ बताउनुहुन्छ । होटल सङ्घ नेपालका केन्द्रीय सदस्यसमेत रहनुभएका सौराहाको जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे नयाँ वर्षसँगै सौराहा भरिभराउ भएको बताउनुहुन्छ ।
नयाँ वर्षको अघिल्लो दिन आफ्नो होटल अग्रिम रुपमा भरिने गरेको भन्दै उहाँले रातिसम्ममा सौराहाका अधिकांश होटल भरिने अनुमान गरिएको बताउनुभयो । यो समयमा स्वदेशी पर्यटक धेरै आउने गर्दछन् ।

