नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेको बताउनुभएको छ ।
आज राष्ट्रिय एकता र मेलमिलाप दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्नुभयो ।
“कांग्रेसले उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको छ”, महामन्त्री थापाले भन्नुभयो, “यो आत्मविश्वास हाम्रो एकता र समन्वयबाट आउँछ । एकता निषेधबाट वा फरक विचारलाई बेवास्ता गरेर नभई भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट उद्भव हुन्छ ।”
उहाँले आजको समयमा कांग्रेसको विशेष अधिवेशनबाट उक्त मञ्च तयार हुने धारणा राख्नुभयो । पुस मसान्तभित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारी मात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको उहाँले उल्लेख गर्नुभयो ।

