देशमै उद्योग–व्यवसाय टिकाउन नसकिए युवाहरू विदेशिन बाध्य हुने यथार्थलाई आत्मसात गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्ने दृढ संकल्पका साथ अघि बढ्नुभएका जनक पौडेल चितवन उद्योग वाणिज्य संघको उपाध्यक्ष पदका बलिया उम्मेदवारका रूपमा देखिनुभएको छ।
देशकै चर्चित वैष्णव मिष्ठान्न भण्डारका सञ्चालक पौडेलले विदेशका आकर्षक अवसरलाई त्यागेर नेपालमै उद्योगमा लगानी गर्दै आज २०० भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिन सफल हुनुभएको छ। उहाँको यो योगदान केवल व्यवसायिक सफलतामा सीमित नभई स्वदेशमै सम्भावना खोज्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण बनेको छ।
“उद्योग बाँच्यो भने मात्रै देश बाँच्दछ” भन्ने स्पष्ट दृष्टिकोण राख्ने पौडेल आरोप र गुनासोभन्दा समाधानमुखी कार्ययोजनामा विश्वास गर्नुहुन्छ। व्यवसायीको हक, हित र सुरक्षाका लागि संस्थागत रूपमा मजबुत लडाइँ लड्ने प्रतिबद्धताका साथ उहाँ चुनावी मैदानमा उत्रनुभएको हो।
पौडेलका प्रमुख एजेन्डामा जिल्लाभरिका होटल तथा पर्यटन व्यवसाय २४ सै घण्टा सञ्चालनका लागि नीतिगत पहल, व्यवसायीमैत्री वातावरण निर्माण, कर तथा प्रशासनिक झन्झट न्यूनिकरण, अनुभवी व्यवसायीको सम्मान र युवालाई उद्यमशीलतामा आकर्षित गर्ने कार्यक्रम समावेश छन्।
चितवन उद्योग वाणिज्य संघलाई केवल एउटा संस्था होइन, व्यवसायीको वास्तविक अभिभावक बनाउने लक्ष्यसहित अघि बढ्नुभएका पौडेलले “अब भाषण होइन, काम चाहिन्छ” भन्ने सन्देश दिनुभएको छ। उद्योगी–व्यवसायीले भोग्दै आएका समस्याको समाधानका लागि उहाँसँग अनुभव, स्पष्ट योजना र दृढ इच्छाशक्ति रहेको उहाँका समर्थकहरू बताउँछन्।
यस पटक परिवर्तन चाहने, उद्योगमै भविष्य देख्ने र व्यवसायीको आवाज बुलन्द बनाउने सशक्त नेतृत्व चयन गर्ने समय आएको भन्दै पौडेलको उम्मेदवारीलाई चितवनका उद्योगी–व्यवसायीहरूले चासोका साथ हेरिरहेका छन्।

