नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको दशौँ केन्द्रीय परिषद् तथा एघारौँ केन्द्रीय महाधिवेशन चितवनको सौराहामा सुरु भएको छ।
शनिबारदेखि सुरु भएको महाधिवेशन आइतबारसम्म चल्नेछ भने यसबाट नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित हुनेछ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले बैंकिङ तथा उद्यम क्षेत्रमा लगानीको वातावरण नबन्दा आर्थिक तरलता बढेको बताए। लगानी सुरक्षाको प्रत्याभूति भए मात्र अर्थतन्त्र सुदृढ हुने उनको भनाइ थियो।
संघका वरिष्ठ उपाध्यक्ष मिलनबाबु नेपालले कार्यालय बाहिर काम गर्दा कर्मचारीले दुव्र्यवहार सहनुपरेको गुनासो गरे। चार महिने उपदान प्रणाली कार्यान्वयन हुन नसकेको, कर्मचारी विनियमावली संशोधनमा समस्या देखिएको तथा ३० वर्षसम्म ज्यालादारीमा काम गरेका कर्मचारीको सुविधाबारे स्पष्टता आवश्यक रहेको उनले बताए।
संघका पूर्व अध्यक्ष पुण्यप्रसाद भट्टराईले ट्रेड युनियनले संस्थागत सुशासन, पेशागत हकहित र सामाजिक सुरक्षाका एजेन्डा नछोड्नुपर्नेमा जोड दिए।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले सार्वजनिक बैंक निजी क्षेत्रसँग प्रतिस्पर्धामा रहेको उल्लेख गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै कर्मचारी लाग्नुपर्ने बताए।
संघका अध्यक्ष इश्वर बहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न ट्रेड युनियनका नेता, बैंकका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिको सहभागिता रहेको थियो। महाधिवेशनअघि सौराहामा प्रभातफेरि निकालिएको थियो।

