उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको हालै सम्पन्न निर्वाचनमा शिरिष पन्त उपविजेता बनेका छन्। निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै पन्तले चुनावी प्रक्रिया मूलतः प्राविधिक विषय भएको उल्लेख गर्दै आफू परिणामप्रति कृतज्ञ रहेको बताएका छन्।
विभिन्न खाले घेराबन्दी र प्रभावका बीच थोरै मतान्तरले नतिजा आफ्नो पक्षमा नआए पनि आफू निराश नभई जिम्मेवारीबोधले भरिएको उनले स्पष्ट पारे। “माथि उठ्ने आशा होइन, माथि उठाउने विश्वास दिनुहुने प्रत्येक मतदाता, शुभेच्छुक र सहयोगीप्रति हृदयदेखि धन्यवाद व्यक्त गर्दछु,” पन्तले भने।
पन्तले यो परिणामलाई हारका रूपमा नभई जनआस्थासँगको नजिकको दूरी र थप जिम्मेवारीको अनुभूतिको रूपमा लिएको बताए।
आफूले पाएको विश्वासलाई आगामी दिनमा अझ मजबुत प्रतिबद्धतामा रूपान्तरण गर्दै समाज, व्यवसायिक क्षेत्र र जनहितका विषयमा इमानदार तथा समर्पित भएर लागिरहने प्रतिबद्धता उनले जनाए।
उनले निर्वाचनका क्रममा उठाएका व्यवसायिक हित, नीतिगत सुधार तथा उद्यममैत्री वातावरणसम्बन्धी मुद्दाहरू जहाँ रहे पनि निरन्तर रूपमा बुलन्द गर्दै जाने उल्लेख गरे।
अन्त्यमा पन्तले सम्पूर्ण समर्थक, शुभेच्छुक र सहयोगीप्रति विश्वास, साथ र सद्भावका लागि धन्यवाद व्यक्त गरेका छन्।

