चौथो गैँडाकोट महोत्सवअन्तर्गत आज पौष २६ गते महोत्सव परिसरमा विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना हुँदैछन्।
आयोजक समितिका अनुसार आजको कार्यक्रम महोत्सवकै विशेष आकर्षणका रूपमा रहनेछ।
सांस्कृतिक संयोजक किशोर लम्सालले जानकारी दिएअनुसार आज धार्मिक तथा सांस्कृतिक चेतनाको प्रवर्द्धन गर्ने उद्देश्यसहित भजन प्रतियोगिता आयोजना गरिएको छ, जसमा विभिन्न समूहहरूको उत्साहजनक सहभागिता रहनेछ। “महोत्सवलाई मनोरञ्जनसँगै सांस्कृतिक पहिचानसँग जोड्न भजन प्रतियोगितालाई प्राथमिकतामा राखेका छौँ,” लम्सालले बताए।
आजको सांस्कृतिक कार्यक्रममा चर्चित गायिका सिता राना, लोकप्रिय गायक प्रकाश सपुत, युवा गायक दिपक खड्का तथा गायक सन्तोष सुवेदीले आफ्ना चर्चित गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्ने कार्यक्रम तय गरिएको छ। चर्चित कलाकारहरूको प्रस्तुति हेर्न दर्शकको उल्लेख्य उपस्थिति रहने अपेक्षा आयोजकले गरेका छन्।
माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा सांस्कृतिक कार्यक्रमसँगै स्थानीय उत्पादनको प्रदर्शनी, व्यापारिक स्टल, विभिन्न खानाका परिकार तथा मनोरञ्जनात्मक खेलहरू समावेश गरिएको छ।
महोत्सवले गैँडाकोटको कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजक समितिले लिएको छ।
सांस्कृतिक संयोजक लम्सालले समयमै उपस्थित भई महोत्सवको सांस्कृतिक कार्यक्रमको भरपुर आनन्द लिन सबैलाई आग्रह गरेका छन्।

