नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पपुलिज्मले मुलुकको लोकतान्त्रिक प्रणाली र स्थायित्व कमजोर बनाउने चेतावनी दिएका छन्।
शनिबार च्यासलमा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङसँग जोडिएका गतिविधिप्रति लक्षित टिप्पणी गरेका हुन्।
ओलीले हालको राजनीतिक ध्रुवीकरण ‘पुराना र नयाँ दल’बीच नभई भदौ २४ को विध्वंसलाई वैधता दिने कि नदिने भन्ने विषयमा केन्द्रित रहेको बताए। लोकतन्त्र राजनीतिक दलकै भूमिकाबाट बलियो हुने भन्दै विचार र जवाफदेहिताविहीन पपुलिस्ट प्रवृत्तिले समाजमा भ्रम र अस्थिरता बढाउने उनको भनाइ थियो।
सत्तामा पुग्न जस्तोसुकै भावना बेच्ने पपुलिस्टहरूले नेपालजस्तो देशमा गम्भीर भूराजनीतिक जोखिमसमेत निम्त्याउन सक्ने भन्दै उनले जनतालाई यस्ता भ्रमबाट सचेत रहन आग्रह गरे।

