बागमती प्रदेश सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री मधुसुदन पौडेलले प्रदेशको कृषि क्षेत्रसँग सम्बन्धित दीर्घकालीन समस्या समाधानलाई उच्च प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
चितवन उद्योग संघको आयोजनामा जारी कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय एक्स्पो प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले कृषि उत्पादन वृद्धि, किसानको आयआर्जन र आत्मनिर्भर कृषि प्रणाली विकासमा प्रदेश सरकार केन्द्रित हुने बताउनुभयो ।
मन्त्री पौडेलले उत्पादनमा आधारित अनुदान प्रणाली लागू गरी वास्तविक किसानले मात्रै अनुदान पाउने व्यवस्था गरिने स्पष्ट गर्नुभयो । यसले अनुदानको दुरुपयोग रोक्न र किसानलाई प्रत्यक्ष लाभ पुग्ने उहाँको विश्वास छ ।
खेतीयोग्य जमिनको अतिक्रमण रोक्दै त्यसलाई उत्पादनशील बनाइने उल्लेख गर्दै उहाँले कृषि पेशालाई सम्मानजनक र आम्दानीमुखी बनाउने नीति प्रदेश सरकारले लिएको जानकारी दिनुभयो ।
“विदेशी वस्तुमा निर्भरता घटाएर स्वदेशी कृषि तथा पशुपंक्षीजन्य उत्पादनको प्रवर्द्धन गर्नु आजको आवश्यकता हो,” मन्त्री पौडेलले भन्नुभयो, “यसका लागि किसान, व्यवसायी र सरकारबीच सहकार्य अपरिहार्य छ।”
उहाँले दुग्ध किसानले भोग्दै आएका दूधको भुक्तानी समस्या तथा ह्याचरी कुखुरा व्यवसायीका चुनौतीहरू समाधान गर्न प्रदेश सरकार गम्भीर रहेको पनि स्पष्ट पार्नुभयो । किसान र व्यवसायीको समस्यालाई नजिकबाट बुझेर व्यवहारिक समाधान निकालिने उहाँको भनाइ थियो ।
कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यवसायिक बनाउने उद्देश्यले आयोजना गरिएको उक्त एक्स्पोले प्रविधि, बजार र लगानीबीचको सहकार्यलाई मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।
एक्स्पो आज माघ २ गतेदेखि ४ गतेसम्म चल्नेछ ।

