देश ऐतिहासिक मोडमा उभिएको वर्तमान अवस्थामा आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लोकतन्त्र सुदृढीकरण र समृद्ध नेपाल निर्माणको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
यही निर्वाचनलाई केन्द्रमा राख्दै चितवन निर्वाचन क्षेत्र नं. ३ बाट नेकपा (एमाले) का तर्फबाट सूर्य चिन्हका उम्मेदवार शंकरराज थपलिया चुनावी मैदानमा उत्रिनुभएको छ।
लोकतान्त्रिक अधिकारको रक्षा, राष्ट्रिय सार्वभौमसत्ताको मजबुती र जनताको जीवनस्तर उकास्ने दृढ प्रतिबद्धतासहित उम्मेदवार थपलियाले चितवन–३ का मतदातासामु स्पष्ट विकास एजेन्डा प्रस्तुत गर्नुभएको छ।
जनआन्दोलनका शहीदप्रति श्रद्धाञ्जली
विगतमा सुशासन, भ्रष्टाचारविरुद्ध र लोकतान्त्रिक अधिकारको मागसहित भएका आन्दोलनका क्रममा ज्यान गुमाएका युवा शहीदहरूप्रति उम्मेदवार थपलियाले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। उहाँका अनुसार ती घटनाबाट सिंगो देश र नेपाली जनता पीडित भएका छन् र अब त्यसको निकास निर्वाचनमार्फत जनमतको सही उपयोग हो।
विकासमा पछि परेको चितवन–३
चितवनको केन्द्रमै रहेर पनि निर्वाचन क्षेत्र नं. ३ विकासका हिसाबले पछाडि परेको क्षेत्र मानिन्छ। राष्ट्रिय निकुञ्ज, बन्यजन्तुको प्रकोप, नारायणी, राप्ती, रेवा लगायतका खोलानालाबाट हुने बाढी–डुबान, कमजोर तटबन्ध, आवागमनको समस्या, कृषि उत्पादन र बजार व्यवस्थापनको अभावले यहाँका नागरिक लामो समयदेखि समस्या भोग्दै आएका छन्।
युवाका लागि जीवनोपयोगी शिक्षा, सीपमूलक तालिम र उद्यमशीलताको अवसर नहुँदा वैदेशिक रोजगारी बाध्यताको विकल्प बन्न नसकेको यथार्थप्रति उम्मेदवार थपलिया स्पष्ट देखिनुहुन्छ।
राष्ट्रिय निकुञ्ज ऐन संशोधनदेखि न्यायोचित क्षतिपूर्तिसम्म
उम्मेदवार थपलियाले २०२९ सालमा बनेको राष्ट्रिय निकुञ्ज ऐनलाई जनमैत्री र विकासमैत्री बनाउँदै संसदबाट नयाँ कानुनी व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै जनधन क्षतिमा उचित र न्यायोचित क्षतिपूर्तिको व्यवस्था गरिने उहाँको भनाइ छ।
धार्मिक पर्यटन र पूर्वाधार विकास
माडी क्षेत्रको समग्र विकासका लागि वाल्मीकि आश्रम, अयोध्याधाम, पाँचपाण्डव क्षेत्र, सोमेश्वर गढी, वैकुण्ठ ताल जस्ता धार्मिक तथा ऐतिहासिक स्थललाई धार्मिक पर्यटनसँग जोड्दै पूर्वाधार विकास गरिने योजना अघि सारिएको छ।
यसले रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र बलियो बनाउने विश्वास लिइएको छ। तटबन्ध, पुल र अन्तरदेशीय सडक
नारायणी, राप्ती लगायतका नदीमा बलियो तटबन्ध निर्माण गरी जमिन, जनता र वातावरणको संरक्षण गरिनेछ।
राप्ती र नारायणी नदीमा पुल निर्माण गरी भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्म छोटो दूरीको पहुँच विस्तार गर्ने लक्ष्यसमेत लिइएको छ। माडी–भरतपुर हुँदै भारत र चीन जोड्ने अन्तरदेशीय राजमार्ग निर्माणको दीर्घकालीन सोचसहित पहल गर्ने प्रतिबद्धता पनि उम्मेदवारको घोषणामा समेटिएको छ।
आदिवासी जनजाति र संस्कृति संरक्षण
यस क्षेत्रमा बसोबास गर्ने थारू, बोटे, दराई, कुमाल, मुसहर लगायत आदिवासी जनजाति समुदायको भूमि, पहिचान र संस्कृतिको संरक्षण गर्दै सबै जातजातिबीच सामाजिक सद्भाव कायम राख्ने नीति लिइने बताइएको छ।
कृषि, रोजगार र सामाजिक सुरक्षामा प्राथमिकता
कृषि तथा पशुपालनलाई विशेष प्राथमिकतामा राख्दै
मल, बीउको समयमै आपूर्ति, सिंचाइ विस्तार, कृषिमा यान्त्रीकरण
सहुलियतपूर्ण कृषि ऋण, उत्पादनको उचित मूल्य र बजार सुनिश्चितता गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।
साथै भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास समस्या समाधान, सुरक्षित आवास, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखिनेछ।
पीडितको पक्षमा प्रतिबद्धता
मिटरब्याज तथा सहकारी पीडित जनताको पक्षमा कानुनी र नीतिगत पहल गर्ने स्पष्ट धारणा उम्मेदवार थपलियाले राख्नुभएको छ।

