राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा चितवन क्षेत्र नम्बर ३ का पूर्व सांसद बिक्रम पाण्डेले हाल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा परिणत भएको पूर्व माओवादी समूहप्रति गम्भीर आरोप लगाउनुभएको छ।
माडीमा आयोजित चुनावी प्रचारप्रसार कार्यक्रममा बोल्दै नेता पाण्डेले सशस्त्र द्वन्द्वकालीन अवस्थालाई स्मरण गर्दै उक्त समयलाई “त्रासदीपूर्ण र पीडादायी” भन्दै टिप्पणी गर्नुभयो।
“त्यो समयमा छोराले आफ्नै बुबाको क्रिया गर्नसमेत नपाएको अवस्था थियो,” उहाँले भन्नुभयो, “निर्दोष जनतालाई बम पड्काएर मारियो, गाउँ–समाज भयभीत बनाइयो, जसको पीडा आज पनि समाजले बोकिरहेको छ।”
उहाँले द्वन्द्वकालमा विद्यालय जाने विद्यार्थी तथा अध्यापन गराउने शिक्षकलाई समेत पार्टी सदस्यता लिन बाध्य पारिएको आरोप लगाउँदै त्यसले शिक्षा क्षेत्रलाई गम्भीर असर पारेको दाबी गर्नुभयो।
नेता पाण्डेले आफूलाई समेत त्यतिबेला माडी प्रवेश गर्न नदिन विभिन्न प्रपञ्च रचिएको उल्लेख गर्दै राजनीतिक असहिष्णुताको उदाहरण भएको बताउनुभयो।
उहाँले विगतका घटनाबाट पाठ सिक्दै लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउनुपर्ने आवश्यकता औंल्याउँदै मतदातासँग शान्ति, स्थायित्व र विकासका पक्षमा निर्णय लिन आग्रह गर्नुभयो।
